काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारदाताले आवश्यक पर्ने जनशक्ति नपाएको बताएका छन् ।
बुधबार राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको एक कार्यक्रममा बोल्दै उनले दुई पक्षलाई जोड्न नसक्दा श्रमिकले काम नपाएको र रोजगारदाताले समेत श्रमिक नपाएको बताए । उनका अनुसार यही ग्यापलाई सम्बोधन गर्न सरकारले श्रमसञ्चार अनलाइन पोर्टल सञ्चालनमा ल्याएको बताए ।
उनले हरेक वर्ष ४ लाख जनशक्ति श्रम बजारमा आउने गरेको बताउँदै त्यो शक्ति कति सीपयुक्त हुन्छ भन्ने महत्वपूर्ण हुने बताए । अहिले वैदेशिक रोजगारमा जानेको लहर चलेपनि मुलुकभित्रै ठूलो जनशक्तिको आवश्यकता रहेको भण्डारीको भनाइ छ । उनकाअनुसार गहना बनाउने ८ लाख, निर्माणमा २० लाख, तयारी पोसकामा समेत उत्तिकै संख्यामा बाहिरबाट मान्छे काम गर्न नेपालमा आइरहेका छन् । त्यसका ठाउँमा रिप्लेस गर्न सकेपनि नेपालमा धेरै जनाले रोजगारी पाउने स्थिति बन्नेछ ।
उनले सबै श्रमसम्बन्धी सेवा सूचनासहित सम्पूर्ण जानकारी दिनका लागि श्रमसंसार डिजिटल पोर्टल सुरु गरेको बताउँदै ७५३ ओटा पालिकालाई जोड्ने तयारी भएको बताए । नेपालमा बिना भन्सुन जागिर पाइँदैन भन्ने भाष्य सिर्जना भएको भन्दै श्रम सञ्चार पोर्टलले त्यसलाई चिर्न सघाउ पुग्ने उनको भनाइ थियो । उनकाअनुसार त्यसपछि त्यो पोर्टललाई नागरिक एपसँग जोडिनेछ । त्यो पोर्टललाई वैदेशिक रोजगारीको डिमाण्डसँग जोडिने बताउँदै उनले वैदेशिक रोजगारका डिमाण्डहरु जोडिसकेपछि विचौलियाले जुन ठग्ने गरेका छन त्यहीबाटै नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरु छोटो समयका लागि गएको बताउँदै फर्केर आउनेको सीपलाई परिचालन गर्न सकेपनि मुलुक समृद्ध बन्ने बताए । वैदेशिक रोजगारीमा ३६ हजार ठगीको उजुरी रहेको र त्यसको फरफारक गर्न काम भइरहेको, स्वचालित हिसाबले न्यूनतम तलब निर्धारण गर्न गृहकार्य भएको, समाजिक सुरक्षा अनिवार्य गर्ने, ऐन कानुन संशोधन गर्नेजस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको उनले जानकारी दिए ।