२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

संघ प्रतिनिधिमण्डल र साउदी राजदूतबीच आईडी र भिसाको समस्याबारे छलफल

shivam cement
२०८२ वैशाख २५ गते ०६:१५
संघ प्रतिनिधिमण्डल र साउदी राजदूतबीच आईडी र भिसाको समस्याबारे छलफल

काठमाडौं : नेपालस्थित साउदी अरेबियाको राजदूतावासले इच्छुक सबै वैदेशिक रोजगार व्यवसायीलाई साउदी आईडी उपलब्ध गराएर भिसा प्रक्रियालाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई ललितपुरको कुपोन्डोलस्थित राजदूतावासमा स्वागत गर्दै नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अबुहैमेद र कन्सुलर अमिरले उक्त प्रतिबद्धता जनाएका हुन् । 

संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्ष तथा संघको साउदी संयोजक बैकुण्ठ पौडेल वैभव, कोषाध्यक्ष धनमाया सिंजाली, कार्यसमिति सदस्य भरत सापकोटा, सुवर्ण लामा, रमा खड्कालगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष गुरुङले राजदूत अबुहैमेद र कन्सुलर अमिरसँग साउदी अरेबियामा नेपाली कामदार पठाउने नेपाली म्यानपावर कम्पनीलाई दूतावासले प्रदान गर्ने साउदी आईडी र कामदारको भिसा प्रक्रियामा रहेका समस्याबारे विस्तृतमा छलफल भएको बताए । छलफलपछि राजदूतावासले इच्छुक सबै म्यानपावर कम्पनीलाई साउदी आईडी उपलब्ध गराउने र त्यसका लागि आगामी जुन महिनामा एक महिनाको अवधि राखेर आवेदन खुलाउने जानकारी दिएको अध्यक्ष गुरुङले बताए ।

हाल एक हजारको हाराहारीमा म्यानपावर कम्पनी भएपनि करिब ६ सय म्यानपावर कम्पनीसँग मात्र साउदी आईडी रहेको छ । साउदी आईडी नहुने म्यानपावर कम्पनीलाई समस्या रहेको कतिपय व्यवसायीको गुनासो छ । कतिपयले समयमा आईडी नवीकरण नहुँदा साउदी अरेबियामा एकलौटी कामदार पठाउन चाहने केही ठूला व्यवसायीले दूतावासलाई अनुचित प्रभाव पारेर आफूहरूलाई काम गर्नबाट वञ्चित गराउने प्रपञ्च गरेकोसमेत आरोप लगाउने गरेका छन् । 

हाल साउदी अरेबियाबाट पहिलेको तुलनामा धेरै कामदारको डिमाण्ड आइरहेको छ । साउदीले भिजन २०३० परियोजना संचालन गरिरहेको छ । त्यसबाट भविष्यमा थप डिमाण्ड आउने अवस्था छ । तर दूतावासले एउटा म्यानपावर कम्पनीलाई हप्ताको एक पटक मात्र भिसाका लागि फाइल पेश गर्न पाउने व्यवस्था गर्दा समस्या भएको गुनासो छ । उक्त समस्या समाधानका लागि म्यानपावर कम्पनीले राजदूतावासलाई सम्बोधन गरेर आधार र कारण खुलाएर लेटरहेडमा अनुरोध पत्र पठाएको अवस्थामा हप्ताको २ पटकसम्म भिसाका लागि आवेदन पेश गर्न पाउने विषयमा पनि राजदूत अबुहैमेद र कन्सुलर अमिरले सहमति र प्रतिबद्धता जनाएको अध्यक्ष गुरुङले मध्यान्ह दैनिकलाई जानकारी दिए । 

साउदी संयोजक पौडेलले भिसा सब्मिसनको दिन बिदा परेको अवस्थामा त्यस्तो म्यानपावर कम्पनीलाई अर्को दिन तोक्ने र कसैको पनि साउदी आईडी ब्लक नगर्ने विषयमा पनि सहमति बनेको भन्दै बुधबारको छलफलले भिसा सब्मिसनका धेरै प्राविधिक विषय हल भएकाले व्यवसायीलाई साउदी दूतावासमा सहज हुने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise