२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विपद्‍मा जनता : एकै महिनामा ६२ जनाले गुमाए ज्यान

ADV
दिवाकर अधिकारी
२०८१ असार २४ गते ०६:४५
विपद्‍मा जनता : एकै महिनामा ६२ जनाले गुमाए ज्यान

काठमाडौं : पछिल्लो एक महिनामा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक प्रकोपले ६२ जनाको मृत्यु भएको पाइएको छ । 

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु भएको हो । 

तर, सरकारले विपद् प्रभावितलाई उद्धार, राहत र व्यवस्थापनमा ध्यान दिन नसक्दा धनजनको क्षति बढी हुन पुगेको हो ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् ।

पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । 

प्राकृतिक विपद्का बेला सरकार सक्रिय हुन नसकेको भनेर संसदमा आलोचना भएको छ । 

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले देशभर अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै अविलम्व राहत र उद्दारमा ध्यान पुर्‍याउन सरकारको आग्रह गरे । 

विपद् व्यवस्थापनमा सरकारको काम प्रभावकारी हुन नसकेको बताए । 

सांसद शंकर भण्डारीले देशको ७७ वटै जिल्लामा हुने दुर्घटनालाई मध्यनजर गर्दै उद्दार कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरे । 

‘वर्षा जारी भएकोले अब पनि क्षति हुने सम्भावना छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, विपद् व्यवस्थापनको तयारी हुन सकेका छैनन् । त्यसकारण ७७ वटै जिल्लामा सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै सरकारले उद्दारको कार्यलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको जिउ, धनको रक्षा गर्ने काममा सरकारको गम्भीर भुमिका रहोस्’ उनले भने । 

सांसद हितराज पाण्डेले बाढी, पहिरो पीडितलाई सुरक्षित आवास र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गरे । उनले पूर्वतयारीको कामलाई व्यवस्थित गर्न माग गरे ।

‘बाढी र पहिरोमा परि यातायातहरु अवरुद्ध भएका छन् । कृषि कार्यहरुमा अवरोध आएको छ । विभिन्न कामहरुमा अवरोध आइपरेर जनताले दुःख पाइरहेका छन् । जनतामा त्रास परिरहेको छ । बाढी पहिरो पीडितलाई सुरक्षित आवास र राहत प्रदान गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । पूर्वतयारीलाई व्यवस्थित गरेर जनताको दुःखमा मल्हम, पट्टी लगाउनको लागि लागिरहनका लागि म विशेष आग्रह गर्दछु’ उनले भने । 

प्रतिनिधि सभा सदस्य डा.चन्दा कार्कीले विपद् प्रतिकार्य योजना बनाउने र अत्याधुनिक पूर्वचेतना प्रणाली स्थापना गर्न सरकारको ध्यानाकर्षण गरिन् । उनले उद्धार र राहतको काम तुरुन्तै चाल्न र दूरगामी योजना बनाउन बनाउन पनि सरकारसँग माग गरिन् । 

अर्का सांसद छिरिङल्हामु लामा तामाङले कर्णाली राजमार्ग अवरुद्ध हुँदा बिरामीहरुलाई असर पारेको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद अब्दुल खानले विकासका कार्यहरु दैवीप्रकोपमैत्री नहुँदा समस्या परिरहेको भन्दै विकासका कामहरु दैवीप्रकोपमैत्री बनाउनुपर्ने बताए । 

‘विकासका कार्य दैवीप्रकोपमैत्री नभएको कारणले गर्दा मानव जिवनमा अत्याधिक समस्या परेका हुन्छन् । विकासका कार्यहरु गर्दा कम्तीमा दैवीप्रकोपमैत्री बनाउनुपर्छ’ उनले भने । 

अर्का सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री सत्ता टिकाउने ध्यानमा लागेकाले दैवीप्रकोपको काममा ध्यान पुर्‍याउन नसकेको बताए । 

‘प्रधानमन्त्री दबाबमा हुनुहुन्छ । सरकारले दैवी प्रकोपमा गर्नुपर्ने कामहरुमा त्यति ध्यान दिन सकिरहेको छैन । सक्नेपनि छैन । यो सरकार कतै टिकिहाल्छ कि भन्ने ध्यानमा उहाँ केन्द्रित हुनुुहुन्छ ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise