२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

जनमत–नाउपा एकता : सर्‍यो कि टर्‍यो ?

मध्यान्ह
२०८२ जेठ १ गते ०६:२०
जनमत–नाउपा एकता : सर्‍यो कि टर्‍यो ?

काठमाडौं : झण्डै एकता नजिक पुगेको डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण प्रक्रिया अनिश्चित बनेको छ । 

१७ वैशाखमा तय भएको पार्टी एकीकरण घोषणा कार्यक्रमअघि नाउपाका संरक्षक चौधरी पक्राउ परेपछि एकता प्रक्रियामा ‘ब्रेक’ लागेको हो । एकताको मुखैमा नाटकीय ढंगले पक्राउ परेका चौधरी सोही दिन साँझ रिहा त भए तर रोकिएको एकता प्रक्रिया भने सुचारु हुन सकेको छैन ।

यद्यपि, उक्त घटनाप्रति दुवै पार्टीले तत्कालै आपत्ति जनाए पनि ११ दिन बितिसक्दा एकीकरण प्रक्रियाले पुनः मूर्त रूप लिन सकेको छैन । दुवै पार्टीका नेताहरूले आफूहरू आन्तरिक छलफलमा रहेको र एकता छिट्टै हुने बताउँछन् ।

सर्वोच्च अदालतको नक्कली पत्रका आधारमा पार्टी एकीकरणको दिन कार्यक्रम स्थल नेपाल प्रज्ञाप्रतिष्ठानको प्रांगणबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई तत्कालै डिल्लीबजार कारागारमा राखिएको थियो । पछि अदालतले नै पत्र अनधिकृत भएको बताएपछि चौधरीलाई रिहा गरिएको थियो ।

चौधरीलाई पक्राउ गर्नू भनी अदालतका अधिकृत महिमानसिंह बिष्टले नक्क्ली पत्र बनाएर प्रहरीसँगै आफैं पुगेका थिए । बिष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका, चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

चौधरी रिहा भए पनि २ पार्टीबीच एकता कहिले हुने भन्ने निश्चित भएको छैन । दुवै पार्टीका नेताहरूले एकता छिट्टै हुने बताइरहँदा एकता मितिबारे उनीहरू अन्योलमा छन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै एकता हुने बताउँछिन् । शुक्रबार संसद् भवन परिसरमा संचारकर्मीहरूसँगको कुराकानीमा उनले जनमत पार्टीका अध्यक्ष राउतको व्यस्तताका कारण एकता घोषणाको नयाँ मिति सार्वजनिक नगरिएको बताइन् ।
‘रेशमको गैरकानुनी गिरफ्तारीका बारेमा गृहमन्त्री रमेश लेखकले संसद्मा जबाफ दिइसकेकाले यो विषय टुंगिसकेको छ । यसमा अब विवाद र छलफलको आवश्यकता छैन’, उनले भनिन् ।
जनमत पार्टीका अबदुल खान पनि एकतामा कुनै व्यवधान नरहेको बताउँछन् । ‘दुवै पार्टीका शीर्ष नेताहरू आ–आफ्नो पार्टी संगठनको कार्यमा व्यस्त रहेका कारण पार्टी एकतामा केही ढिलाइ भएको छ’, उनले भने ।

चौधरी पक्राउ परेको विषयमा पार्टीमा समीक्षा भइरहेको र दुवै पार्टी संयुक्त रूपमा बसेर पनि समीक्षा गरिरहेका कारण एउटा निष्कर्षमा पुगेपछि एकताको प्रक्रिया अगाडि बढ्ने उनी बताउँछन् ।

जनमतका उपाध्यक्ष खानका अनुसार एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दुवै पक्षबीच छलफल जारी रहेको र चौधरी पक्राउका विषयमा दुवै पार्टीबीच समीक्षागत छलफल चलिरहेको छ ।

‘हाम्रो प्रारम्भिक निष्कर्षअनुसार चौधरी प्रक्राउ प्रकरणमा कुनै पनि पार्टीको संलग्नता रहेको पाइएको छैन । यसमा सरकारको पनि हात छैन’, उनले भने, ‘अदालतका सनकी कर्मचारीका कारण एकता बिथोलिएको हो ।’

जनमतका अध्यक्ष राउत पार्टीका विभिन्न कार्यक्रम लिएर अहिले जिल्ला–जिल्ला पुगिरहेका छन् । नाउपाको अहिले कुनै राजनीतिक गतिविधि भने छैन तर पनि नेताहरू व्यस्त भएका कारण एकता प्रक्रिया अगाडि बढ्न नसकेको अन्य नेताहरू बताउँछन् ।

जनमतका एक नेताका अनुसार एकताका विषयमा पार्टीभित्र विवाद चलेको छ । ‘१७ वैशाखमा हुने भनिएको एकताका लागि सबै कुरामा सहमति बनिसकेको थिएन । त्यही भएर सबै विषय स्पष्ट गरेर नै एकताका लागि अगाडि बढ्ने हो’, ती नेताले भने ।

चौधरी पक्राउ परेपछि राउत पार्टी एकताका लागि अब हतार गर्ने पक्षमा भने छैनन् । यस्तै, नाउपा पनि हतारमा एकता गर्ने पक्षमा छैन । नाउपाका नेताहरूले एकता छिट्टै हुने भने पनि संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठ तत्काल एकताको पक्षमा छैनन् । श्रेष्ठ त सुरुदेखि नै एकताप्रति सकारात्मक थिइनन् ।

एकताका लागि श्रेष्ठले चौधरीलाई रोकेकी पनि थिइन् तर चौधरी र राउत अगाडि बढिसकेपछि उनले बाध्य भएर साथ दिएकी थिइन् ।

पार्टीको अध्यक्षमा राउत रहने तथा संरक्षकमा चौधरी र सहअध्यक्षमा श्रेष्ठ रहने टुंगो लागे पनि बाँकी विषयमा अझै टुंगो लाग्न सकेको छैन ।

एकताका लागि दुवै पार्टीले एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी रहने, चुनाव चिह्न ढकिया, कार्यकारी अध्यक्ष राउत, संरक्षक चौधरी र सहअध्यक्ष श्रेष्ठ रहने सहमति गरिसकेका छन् । 

एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको छ । दुवै पार्टीबाट २५/२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको छ ।

२५ सदस्यीय सचिवालय सदस्य रहने छ, जसमा जनमतबाट १२ र नाउपाबाट पनि १२ जना रहने र संरक्षक रेशम चौधरी रहने २ दलबीच सहमति भएको थियो ।

ADV

सम्बन्धित खबर