२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

महानिर्देशक भट्टराईलाई एकीकृत संस्थाका दर्जनौं सुझाव

२०८२ जेठ ३ गते ०६:२५
महानिर्देशक भट्टराईलाई एकीकृत संस्थाका दर्जनौं सुझाव

काठमाडौं : एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपालले वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि वैदेशिक रोजगारका नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईको ध्यानाकर्षण गराएको छ । शुक्रबार विभागका नवनियुक्त महानिर्देशक भट्टराईलाई स्वागत तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने क्रममा संस्थाले उक्त ध्यानाकर्षण गराएको हो । 

कार्यक्रम एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाका अध्यक्ष सन्तकुमार लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पटक–पटक फेमिसमा देखिने समस्या, पूर्व तथा अन्तिम श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण समस्या, रोजगारदाता र वैदेशिक रोजगारमा जाने कामदारको हित संरक्षण, दुई देशबीचको श्रम सम्झौता, श्रम बजारको प्रवर्धन, वैदेशिक रोजगार कल्याणकारी कोषको रकम उपयोग, घरेलु श्रमिकलगायतका क्षेत्रमा रहेका समस्याबारे नवनियुक्त महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी संस्थाले छुट्टै इजाजत लिनुपर्ने बाध्यता, अनुगमनको त्रास, उजुरी फरफारक, स्वार्थ समूहको हस्तक्षेप र कर्मचारीको भूमिका र व्यवसायी वर्गीकरण र एकाधिकारलगायतका विषयमा पनि सविस्तारमा महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराएको हो । अध्यक्ष लामाले संस्थाले दिएका सुझाव कार्यान्वयन गरिएमा वैदेशिक रोजगार प्रशासन गुनासोरहित बन्ने र सेवाग्राहीले राहत महसुस गर्ने भन्दै सकारात्मक सुधारका काममा संस्था सधैं महानिर्देशकसँग सहकार्यका लागि तयार रहेको बताए ।

संस्थाका महासचिव मधुकर रिजालले नेपालमा वैदेशिक रोजगारको अवस्था र समस्या समाधान नहुँदा व्यवसायजन्य असुरक्षा बढेको भन्दै आम सेवाग्राहीलाई महसुस हुनेगरी सुधारका काम गर्न नवनियुक्त महानिर्देशक भट्टराईलाई आग्रह गरे ।

सचिव अनिल बोगटीले युरोपेली मुलुकमा रहेको मागपत्र प्रमाणीकरणले समस्या सिर्जना गर्दा व्यक्तिगत श्रम स्वीकृतिमा असुरक्षितरूपमा जाने क्रम बढेको र त्यसमा विभागका कर्मचारी सहयोगी बनेको भन्दै त्यसमा तत्कालै ध्यान दिन नवनियुक्त महानिर्देशक भट्टराईलाई आग्रह गरे ।

जवाफमा नवनियुक्त महानिर्देशक भट्टराईले आफू महानिर्देशकमा बहाली भएपछि दिइएका रायसुझावमध्ये संस्थाले दिएका सुझाव बढी रचनात्मक देखिएको भन्दै त्यसलाई कार्यान्वयन गरेर व्यवहारमा उतार्न कोसिस गर्ने आश्वासन दिए ।

महानिर्देशक भट्टराईले आगामी १ हप्ताभित्र सुधारका लागि प्रतिवेदन तयार हुने भन्दै १ घण्टाभित्र श्रम स्वीकृति दिने तथा वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा सुधार गरेर देखिएका गुनासा समाधान गर्ने योजना सुनाए ।

हाल फेमिसले दैनिक १८ सय श्रम स्वीकृति जारी गरिरहेकाले आगामी दिनमा क्षमता बढाउने, मुद्दा मामिला, राहत उद्धार र अनुगमनलाई सिष्टममा ल्याउने योजना रहेको पनि सुनाए । महानिर्देशक भट्टराईले सेवा शुल्क सम्बन्धमा कार्यदलले भारत, पाकिस्तान र श्रीलंका लगायतका देशको अध्ययन गर्ने पनि बताए । 

यसअघि नेपाल वैदेशिक रोजगार एकता समिति सामाखुसीको स्वागत कार्यक्रममा म्यानपावर कम्पनी वर्गीकरणको तयारी रहेको बताएका महानिर्देशक भट्टराईले शुक्रबार भने वर्गीकरणको विषय छलफलमा मात्रै रहेकाले बहुसंख्यक व्यवसायीको असहमति र विरोध रहे त्यसलाई प्राथमिकतामा नराखिने उल्लेख गरे । महानिर्देशक भट्टराईलाई स्वागत गर्न संस्थाका पदाधिकारी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरू विभागमा उपस्थित थिए ।

ADV

सम्बन्धित खबर