२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

नयाँ कम्पनीमा जाँदापनि विभागले पुनः श्रम स्वीकृति दिएकोमा व्यवसायीको आपत्ति 

shivam cement
मध्यान्ह
२०८२ जेठ ४ गते ०७:१४
नयाँ कम्पनीमा जाँदापनि विभागले पुनः श्रम स्वीकृति दिएकोमा व्यवसायीको आपत्ति 

काठमाडौं : विदामा घर आएका कामदारलाई पहिलेको भन्दा फरक नयाँ कम्पनीमा जाँदापनि वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिको सुविधा दिएकोमा वैदेशिक रोजगार व्यवसायीहरूले आपत्ति जनाएका छन् । यसले खासगरी युरोपेली श्रम बजारलाई असुरक्षित बनाएको उनीहरूको तर्क छ ।

२ हप्ता अघि विभागको नेतृत्व गर्दै जिम्मेवारीमा आएका महानिर्देशक कमलप्रसाद भट्टराईलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित वैदेशिक रोजगार व्यवसायीका आधा दर्जनभन्दा बढी संस्थाले विभागमा भेटेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । 

बधाई तथा शुभकामनाका सबैजसो कार्यक्रममा खासगरी युरोपेली मुलुकमा पहिलेको भन्दा फरक नयाँ कम्पनी जाँदापनि वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिको सुविधा दिएकोमा विरोध जनाए । ती देशमा रहेका नेपाली कुटनीतिक नियोगहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले संस्थागत रूपमा पठाउन पाएका छैनन् ।

पछिल्लो पटक शुक्रबार नवनियुक्त महानिर्देशक भट्टराईलाई बधाई तथा शुभकामना दिएको एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थाका सचिव अनिल बोगटीले पहिलेको भन्दा फरक र नयाँ कम्पनीमा जाँदापनि वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति दिने काम वैदेशिक रोजगार ऐन विपरीत भएको र उक्त काम विभागबाट कसरी भइरहेको छ भनेर चलखेलको आशंकासहितको प्रश्न उठाए ।

व्यवसायीहरूले आफूहरूलाई २ करोडदेखि ६ करोड रुपैयाँ धरौटी बैंक ग्यारेन्टी राखेर ईजाजत दिने तर विभागले पहिलेको भन्दा फरक र नयाँ कम्पनी जाँदापनि पुनः श्रम स्वीकृतिको सुविधा दिने हो भने वैदेशिक रोजगार क्षेत्रलाई असुरक्षित बनाएको दोष विभागले लिनुपर्ने भनाइ पछिल्लो २ हप्तामा भेटेका व्यवसायीहरूले राखेका छन् । महानिर्देशक भट्टराईले व्यक्तिगत पहलमा रोजगारीमा जाने र सो अनुसार श्रम स्वीकृति लिने विषय स्वभाविक भएपनि फरक कम्पनीका लागि पनि पुनः श्रम स्वीकृति दिएको विषय आफ्ना लागि अध्ययनको विषय भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिने प्रतिबद्वता व्यक्त गरे ।

विभागले पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सो को स्क्यान कपी पेश गर्नुपर्ने चेकलिष्ट नै तयार गरेको छ ।

त्यतिमात्र नभई पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन नेपाली अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने जनाएको छ । विभागले सम्बन्धित कम्पनी भएमा मात्रै पुनः श्रम स्वीकृति र नयाँ कम्पनी भएको अवस्थामा व्यक्तिगत नयाँ श्रम स्वीकृतीको व्यवस्था गरेको छ । 

वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण सम्बन्धि व्यवस्थाअनुसार नयाँ कम्पनीको मागपत्र नेपाली राजदूतावासले प्रमाणीकरण गरेर वैदेशिक रोजगार विभागको प्रणालीमा अपलोड गर्नुपर्ने प्रावधान छ । त्यसरी विभागमा आएको मागपत्रमा मात्रै विभागले प्रक्रिया पु¥याउन लगाएर श्रम स्वीकृति दिने प्रचलन रहेकोमा विभागका कर्मचारीले अख्तियार दुरुपयोग गरेको व्यवसायीहरूको दाबी छ ।
करार अवधि सकिएपछि पनि स्वीकृति बेगर, गैरकानुनी तरिकाबाट भिषाको म्याद भन्दा बढी समय लुकीछिपी जाँदा वा बस्दा कानुनी कारवाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्दार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने भएको भन्दै सरकारले सम्बन्धित मुलुक र विभागबाट पुनः श्रम स्वीकृतिको व्यवस्था गरेको हो ।
 

ADV

सम्बन्धित खबर

Advertise