तेजबहादुर बन/मध्यान्ह
इटहरी उपमहानगर २ शान्तिनगरका ४९ वर्षीय केशव कार्की र सोहि स्थानका ५१ वर्षीय कान्छा भनिने जिवनाथ रेग्मी बोलचाल नभएपनि उनीहरू दुवै छिमेकी हुन् । एउटै बाटो भएर हिँड्ने उनीहरू अचानक भेट भइहाल्दा पनि तर्केर हिँड्ने गर्थे । पाँच वर्ष अघिसम्म राम्रो बोलचाल र भाइचाराको सम्बन्ध रहेको उनीहरूबीच पछिल्लो ४ वर्ष यता एकाएक दुस्मनी शुरू भयो ।
चार वर्षअघि नजिकैको जंगलबाट काठ ल्याउँदै गर्दा गस्ती गर्ने सुरक्षाकर्मीले कान्छा भनिने रेग्मिलाई पक्राउ ग¥यो । उनले ल्याएको सबै काठहरू खोसियो । आफु पक्राउ पर्नुमा र काठहरू खोसिनुमा कार्कीको सुराकी हुन सक्ने भन्दै शंकामा बसे । पछि सो शंकाले विवाद ल्याइ एक अर्काबीच हात हालाहालको स्थितिबाट शुरू भएको दुस्मनी अन्तत कार्कीको ज्यानै लिन पुग्यो । घटना थियो २०७७ चैत्र १६ गते सोमबारको । परिवार होलिमा रमाइरहेको बेला इटहरी २ बेलगाछिस्थित केशव कार्कीको परिवारमा भने शोक छायो ।
सिंगो उपमहानगर होलीको रंगसँगै रमाइरहँदा इटहरी वडा नं. २ भने तनावग्रस्त बन्यो । होलीको दिन बाहिर अरूले रंग लगाइदिन्छन् भन्ने पिरले घरभित्रै कोठामा टिभी हेरिरहेका केशव कार्की होलिकै दिन संसारबाट बिदा भए । ढल्केर टिभी हेरिरहँदा छेउमै रहेकी श्रीमती बिमला कार्की निदाइसकेको अवस्थामा कान्छा भनिने जीवनाथ रेग्मीले कार्कीको कोखामा भाला प्रहार गरी निर्मम हत्या गरेका थिए । रेग्मीले प्रहार गरेको भाला कार्कीको कोखाबाट छेडिएर तन्ना समेत च्यातिएको छ । ओछ्यानमा रगतले लत्पतिदँै छट्पटिन थालेपछि निन्द्राबाट ब्यँुझिएकी श्रीमती बिमलाले छिमेकीहरूलाई गुहार मागेकी थिइन् । भाला प्रहारबाट गम्भीर बनेका कार्कीको तरहरास्थित सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि धरानस्थित बिपी प्रतिष्ठानमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलबाट फलामको भाला पनि बरामद गरेको थियो ।
कार्कीको हत्या गरी फरार बनेका कान्छा भनिने रेग्मिलाई घटनाको एक घण्टापछि प्रहरीले तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान अन्तर्गत गहँुबालिमा लुकेर बसेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका रेग्मीलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सार्वजनिक हुनुअघि अभियुक्त रेग्मीले छिमेकी हत्या पुरानै रिसिइबिले भएको स्वीकारेको बयानमा बताएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले विगत ४ वर्ष अघि देखि नै कार्कीको हत्या गर्ने योजना बनाएको तर पटक–पटक असफल बनेको प्रहरीमा बयान दिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले जानकारी दिए ।
डीएसपी केसीका अनुसार कार्कीको हत्या गर्नकै लागि भनेर २ वर्ष अघि फलामको भाला बनाएको र पटक पटक मौका हेरेर बसेको अनुसन्धानको क्रममा खुलेको छ । पत्रकार सम्मेलनमा सार्वजनिक हुनु अघि पनि अभियुक्त रेग्मीले कार्कीको हत्यापछि आफुमा कुनै आत्माग्लानी नभएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका अभियुक्त रेग्मी बिरूद्ध अदालतबाट ७ दिने म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies