२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

गणतन्त्र दिवसका दिन राजावादीको आन्दोलन

जानकी पाठक
२०८२ जेठ ७ गते ०६:३०
गणतन्त्र दिवसका दिन राजावादीको आन्दोलन

काठमाडौं : नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्र घोषणा भएको १७ वर्षपछि फेरि राजावादीहरूले चलखेल बढाएका छन् । संसद्को पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अगुवाइमा गणतन्त्र दिवसकै दिन १५ जेठमा राजतन्त्र पुनस्र्थापनाको निर्णायक आन्दोलन गर्ने तयारी गरेका छन् । 

नेपालको राजनीतिक इतिहास हेर्दा १५ देखि २० वर्षको बीचमा व्यवस्था परिवर्तन भएको पाइन्छ । यसैको जगमा टेकेर राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको सपना देखे पनि अहिले त्यो पूरा हुने सम्भावना नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार आगामी १५ जेठदेखि राजतन्त्र पुनस्र्थापनाको निर्णायक आन्दोलन गर्ने घोषणा गरे ।

शान्तिपूर्ण ढंगबाटै आन्दोलनहरू अघि बढाउने उद्घोष गर्दै उनले राप्रपाले १५ जेठमा गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा बृहत् आन्दोलनको तयारी गरेको बताए ।  

‘१५ जेठमा त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रा तर्फबाट कुनै पनि हिंसात्मक क्रियाकलाप हुँदैन’, उनले भने, ‘अरूलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । भनेको, सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं ।’

आन्दोलनमा हिंसा भड्किन नदिने र संयमित हुने राप्रपाले जनाएको छ । हिन्दु धर्मसहितको राजसंस्था पुनस्र्थापनाको एजेन्डालाई बोकेर हिँडेको राप्रपाको आन्दोलनलाई अन्य समूहले समेत सहयोग गर्ने अपेक्षा गरिएको छ ।

१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि राजावादी शक्तिहरू एक ठाउँमा आएका छन् । राप्रपा, राप्रपा नेपाल, पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, पूर्वमन्त्री केशरबहादुर बिष्टलगायतका समूहहरू एकै ठाउँमा आएका नेताहरूले बताएका छन् ।  

यसअघि राजसंस्था पुनस्र्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेका थिए ।

‘१५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं’, सुवेदीले भनेका थिए, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुने छ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप हुने छ ।’ 

समितिका सदस्य रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहसहितका व्यक्तिहरूले आयोजना गरेको १५ चैतको आन्दोलनले हिंसात्मक रूप लिएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणासहित नेताहरू लामो समय हिरासतमा बसेर निस्किएका छन् । राणा स्वास्थ्यका कारण भन्दै हाजिर जमानीमा छन् भने सोही प्रकरणमा दुर्गा प्रसाईं भने थुनामै छन् । 

आगामी १५ जेठमा हुने आन्दोलनलाई हिंसामुक्त बनाउने र सोही आन्दोलनबाट वर्तमान राजनीतिक व्यवस्था नै परिवर्तन गर्ने नेताहरूले दाबी गरेका छन् । तर, तत्कालीन ७ राजनीतिक दल र द्वन्द्वरत पक्ष नेकपा माओवादीसहितको जनआन्दोलनबाट प्राप्त गणतन्त्रको विकल्प फेरि राजतन्त्र नहुने राजनीतिक दलहरूले दाबी गरेका छन् ।

राप्रपाले पनि यही गणतान्त्रिक व्यवस्थाको उपयोग गर्दै सोही व्यवस्थाको विरोध गर्दै आउनु कुनै राजनीतिक तरिका नभएको टिप्पणी हुँदै आएको छ ।  

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूहरू बूढो भइसकेकाले कहीँ भाग्न नसक्ने भन्दै राजावादीहरूप्रति व्यंग्य गरेका थिए । त्यो विषयमा राप्रपाका नेताहरूले टिप्पणी गरेका छन् ।

‘अस्ति प्रधानमन्त्रीले संसद्मा भन्नुभयो, अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’ 

१५ गते निर्णायक आन्दोलन गर्ने भन्दै उनले राजसंस्थाप्रति आस्थावान् सबैलाई आन्दोलनलाई थप बल पुर्‍याउनसमेत आग्रह गरे । ‘हाम्रो मिहिनेतलाई बढाऔं, हाम्रो क्रियाकलापलाई बढाऔं, हाम्रा छरछिमेकहरूलाई, आफन्तहरूलाई १५ जेठदेखि हुने आन्दोलनमा सहभागी हुन प्रेरित गरौं । आन्दोलनमा एक्लैएक्लै आइन्थ्यो भने योचोटि आफ्नो सिंगै परिवार लिएर आऔं’, उनले भने ।

ADV

सम्बन्धित खबर