काठमाडौं : वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल आइपुगेको छ । आइतबार बिहान मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जना गरी १७ जना कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
आइतबार पाँचथरका सूर्य बहादुर चौहान, सुनसरीका विष्णुराज धामी र महेन्द्र प्रसाद मेहता, बागलुङका चन्द्र बहादुर विक, गोर्खाका मेघ बहादुर कुँवर र सूर्य विक, महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर र भोजपुरका भुपाल पाण्डेको शव ल्याइएको हो । त्यसैगरी सर्लाहीका चन्द्र कुमार साह, बाँकेका विनय कहर तथा झापाका उज्जवल भुजेलको शव पनि आइतबार नै आइपुगेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमध्ये मलेसियामा कार्यरत रहेका नेपाली कामदाहरुको मृत्युदर बढी देखिएको छ । उक्त मुलुमा विभिन्न कारणले दैनिकजसो नेपाली कामदारको मृत्यु हुने गरेको मलेसियास्थित नेपाली दूतावासको भनाइ छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको बढ्दो मृत्यु दरले मलेसियामा कम्पनी म्यानेजरको व्यवहारदेखि नेपालमा हुने प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको प्रभावकारितामा प्रश्न उठेको कतिपयको विश्लेषण छ ।
मलेसियामा गत वर्ष सन् २०२० मा २ सय ८४ जना कामदारको मृत्यु भएको थियो । त्यसमध्ये ४६ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । त्यसभन्दा अघिल्लो वर्ष सन् २०१९ मा २ सय ९८ जना नेपाली कामदारले ज्यान गुमाए । त्यसमा आत्महत्या गरेका कामदारहरुको संख्या ४९ थियो । सन् २०१८ मा ज्यान गुमाएका ३ सय ४७ मध्ये ४५ जनाले आत्महत्या गरेका थिए ।
मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रदीप कार्की नेपालमा दिइने प्रस्थानपूर्वको अभिमुखीकरण तालिमको प्रभावकारितामा कमी रहेको आफुहरुलाई लागेको बताउँछन् । पछिल्ला तीन वर्षमा मलेसियामा आत्महत्या गरेका कामदारहरुको संख्याले दूतावासलाई चिन्तित बनाएको उनले बताए ।
मलेसियामा बढेको आत्महत्याका पछाडि जवर्जस्ती काममा लगाउने कम्पनीको प्रवृत्ति पनि मुख्य कारकका रुपमा देखिएको नेपाली दूतावासको ठम्याई छ । करार अवधि सकिएर घर फर्किनु पर्ने कामदारको वर्कपर्मिट सकिएको ८ महिनासम्म कामदारहरुलाई जवर्जस्ती काममा लगाइएको पाइएको कार्कीले स्थानीय सञ्चारमाध्यम फ्रि मलेसिया टुडेलाई बताएका छन् ।
दूतावासले रोजगारदाताहरुसँग करार अवधि सकिएका कामदारहरुलाई काममा लगाएको बारे शिकायत गर्दा उनीहरुले करार अवधि सकिएका कामदारलाई काममा लगाउन नचाहेको तर एक्जिट पर्मिटका लागि मलेसियाली अध्यागमनमा निवेदन गर्दा अध्यागमनले समय लगाएको जवाफ दिने गरेका कारण करार अवधि सकिएका कामदारलाई घर फर्किन नदिने कम्पनीलाई कारवाही गर्न समस्या रहेको कार्कीको भनाइ छ । मलेसिया सरकारले नयाँ भिसा जारी नगरेका कारण पनि अध्यागमनले एक्जिट भिसा दिन ढिलाई गरेको आँकलन गरिएको कार्की बताउँछन् ।
कोरोना महामारीका कारण नेपाली दूतावासका कर्मचारी पहिलेजस्तो फिल्डमा गई कम्पनी निरीक्षण गर्न सकिरहेका छैनन् । त्यसले पनि कामदारहरुका समस्याको समाधानमा समय लागेको हुनसक्ने उनको भनाइ छ ।
आत्महत्या गरेर ज्यान गुमाएका कामदारको मृत्यु प्रमाणपत्रमा भुण्डिएर आत्महत्या गरेको उल्लेख गर्ने गरिएको छ । तर निरन्तर नेपाली कामदारहरु मृत्युको मुखमा पुग्दा पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन खासै अनुसन्धान हुने गरेको छैन । नेपाली दूतावासले पनि मृत्युको कारणको बारेमा थप अनुसन्धान वा शंका नगरी अस्पतालले दिने कागजात खुरुखुरु स्वीकार गर्ने गरेको छ ।
मलेसियामा विभिन्न मलुकका कामदार काम गर्छन् । तर नेपाली कादारहरु मुलतः आफ्ना हक अधिकारका बारेमा बोल्ने र अन्यायविरुद्ध विरोध जनाउने ‘एसर्टिभ’ स्वभावका मानिन्छन् । हक अधिकारका विषयमा बोल्दा कम्पनीमा म्यानेजरको निशानामा पर्ने र उनीहरुले मानसिक दबाब दिने गरेका कारण पनि नेपाली कामदारहरुले अकालमा ज्यान गुमाउने गरेको आँकलनसमेत गरिएको छ ।
श्रद्धान्जली दिन पूर्वप्रधानमन्त्री भट्टराई पुगे विमानस्थल
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार विहान मृतक कामदारको शव बुझ्न परिवारसँगै त्रिभुवन विमानस्थल पुगे । आइतबार विहान ल्याइएका १७ शवमध्ये डा. भट्टराईको गृहजिल्ला गोरखा सिरानचोकका सूर्य विक, गोरखा नगरपालिकाका मेघबहादुर कुँवरको शव विमास्थल आइपुगेसँगै उनीहरूका आफन्तसहित उनी पनि शव बुझ्न विमानस्थल पुगेका हुन् ।
उनले मृतक कामदारप्रति श्रद्धान्जली व्यक्त गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गदै आफु संवेदनशील भएको बताए । डा. भट्टराईले मृतकका आफन्तको भावविह्वल अवस्था देख्दा आफूले समेत आँसु रोक्न नसकेको उल्लेख गरेका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘कस्तो दुःखद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखाका दुई युवाको शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र ।’ मृतक बिक डा. भट्टराई अध्यक्ष रहेकोे जनता समाजवादी पार्टीमा पहिलेदेखि नै आवद्ध रहेका थिए भने उनका परिवार पनि जसपा कै समर्थक भएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies