काठमाडौं : वैदेशिक रोजगार विभागले कतार प्रहरीका लागि गोप्यरुपमा काम भइरहेको हुनसक्ने आशंका गर्दै सम्भावित ठगीबाट बच्न रोजगार आकांक्षी युवाहरुलाई आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले कतार प्रहरीका लागि विभागबाट हाल कुनै पनि डिमाण्डमा पूर्व स्वीकृति प्रदान गर्ने कार्य नभएको जानकारी गराउँदै कतार प्रहरीमा पठाइदिने भन्दै पासपोर्ट लगायतका कागजात तथा अन्तर्वार्ता लिई रकम माग गर्ने लगायतका अवैध काम भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको जनाएको छ ।
कतार प्रहरीमा नेपालीलाई लैजाने विषयमा कुनै सहमति नभएको भन्दै विभागले विगतदेखि नै यस विषयलाई निगरानी गरिरहेको बताएको छ । यसअघि गत मंसिरमा विभागले कतार प्रहरीमा रोजगारमा जानका लागि राहदानी वा रकम बुझाएका व्यक्तिहरुलाई कुनै म्यानपावर र कम्पनीसँग सम्बन्धित व्यक्तिलाई राहदानी वा रकम वुझाएका भए त्यस्ता व्यक्तिहरूले तीस (३०) दिन भित्र प्रमाणसहित विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको थियो । विभागले यस पटक पनि आफ्नो अनुगमन शाखाको इमेल ठेगनामा मेल गरी उजुरी दिनसमेत आग्रह गरेको छ ।
विभागले कुन देशबाट कुन कामका लागि कति माग आएको छ भन्ने विषयमा विभागको वेबसाइटमा हेरी एकिन गर्न सकिने भन्दै आधिकारिता जाँचेर मात्र वैदेशिक रोजगारको प्रक्रियामा संलग्न हुन पनि रोजगार आकांक्षीहरुलाई अनुरोध गरेको छ ।
वैदेशिक रोजगारका अन्य विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र विभागकाबीच फरक–फरक दृष्टिकोण र अडान भएपनि कतार प्रहरीमा कामदार भर्ना गर्ने विषयमा विभागले लिएका अडान र कदमको संघले समर्थन गर्दै आएको छ ।
संघले ईजाजत पत्र प्राप्त सबै म्यानपावर कम्पनीले कामदार पठाउन पाउने समान अधिकार रहेको भन्दै विभिन्न बहानामा सिण्डिकेट लगाएर वैदेशिक रोजगारमा एकाधिकार जमाउने प्रवृत्तिको विरूद्व सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिँदै आएको छ । संघले सिण्डिकेट खडा गर्ने, एकाधिकार कायम गर्ने काममा नलाग्न पनि वैदेशिक रोजगार व्यवसायीहरूलाई आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies