तेजबहादुर बन/मध्यान्ह
इटहरी : प्रदेश एक प्रहरी कार्यालय विराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिनादेखि खोजी गरेको अभियुक्तलाई एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाई बिहीबार दिउँसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
साँझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिँडेका महिलाहरूलाई धाक धम्की पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भई हाल मोरङ केराबारी गाउपालिका ९ बस्ने ३० वर्षिय बिजु मोतेलाई प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउँसो सार्वजनिक गरेको हो ।
गएको कात्तिक महिनादेखि प्रदेश एक प्रहरी कार्यालय विराटनगरलगायत अन्य प्रहरी कार्यालयले पनि खोजी गरिरहेका मोतेलाई इटहरी प्रहरीले एक निजी व्यवसायीले जडान गरेको सिसि टिभि फुटेजको सहायतामा पक्राउ गरेको हो । कात्तिकदेखि प्रहरीबाट लुकिछिपि फरार हुँदै आएका मोते गत पुस महिनादेखि इटहरीमा देखिन थालेको उक्त सिसि टिभिको फुटेजमा देखिएपछि प्रहरीले थप अनुशन्धान गर्ने क्रममा सोही ब्याक्ति रहेको पुष्टि भएको थियो ।
गएको पुस महिनादेखि हालसम्म सोही ब्याक्तिले इटहरीभित्रैका विभिन्न स्थानका महिलाहरूलाई लुटपाट गरेको ६ वटा घटनासमेत प्रहरीमा दर्ता भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए ।
गत पुस ५ गते इटहरी उपमहानगर ९ बिपी चौकबाट एक महिलाको साथबाट रू ८० हजार लुटिएको उजुरी प्रहरीकहाँ आएको थीयो । पुनः केही दिनपछि त्यस्तै प्रकृत्तिको घटना दोहोरिन पुगेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले इटहरीस्थित बर्गर हाउसमा जडान गरिएको सिसि टिभिको फुटेज चेक गर्दा कालो रंगको ज्याकेट लगाएर एक मोटरसाइकलमा आएका ब्याक्तिले यस्तो हर्कत गरेको प्रष्ट देखिएको छ । अन्य फुटेजहरू पनि चेक गर्दै जाँदा सोही ब्याक्ति पटक–पटक देखा परेपछि २४ गते बेलुका साढे ८ बजे मुख्य राजमार्गबाटै प्रहरीले अभियुक्त मोतेलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मोतेले ६ वटै लुटपाटको घटनामा आफु संलग्न भएको स्वीकारेको प्रहरीले जनाएको छ ।
मोतेको साथबाट प्रहरीले को ८ प १२३६ नं को पल्सर मोटरसाइकल, रातो हेल्मेट, घटनाको बेला लगाएको कालो ज्याकेटलगायतका सामग्री बरामद गरेको छ । पक्राउ परेका मोतेविरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बनेनन् सिसि क्यामारा
पूर्वको ब्यापारिक हवसँगै पछिल्लो समय बजार विस्तारले बाक्लिएको शहर इटहरीमा ७० वटा भन्दा बढी सिसि क्यामाराहरू जडान गरिएका छन् । सरकारी समन्वयबाट मात्रै २७ वटा भन्दा बढी क्यामारा जडान भएपनि ७ वटाले मात्रै काम गरिरहेको छ । निजी स्तरबाट जडान गरिएका सिसि क्यामाराहरूको हालत पनि त्यस्तै छ । सबै गरेर २० वटा सिसि क्यामरा चालु अवस्थामा छन् ।
मुख्य राजमार्गमा जडान भएका सिसि टिभिहरू मध्ये २ वटा मात्र चालु अवस्थामा रहेका छन् । जसका कारण दुर्घटना वा ठुलै अपराधिक गतिविधिहरू भए प्रहरीलाई अनुसन्धानमा समेत कठिनाइ भोग्नुपर्ने अवस्था देखिएको छ । बिग्रिएका सिसि क्यामार जडानको विषयमा उपमहानगर र उद्योग वाणिज्य संघलाई पटक–पटक पहल गरेपनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies