२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

मनसुनअघि नै जोखिमको आंकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

G Motors
मध्यान्ह
२०८२ जेठ ८ गते १३:४२
मनसुनअघि नै जोखिमको आंकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

काठमाडौं : सांसदहरुले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा  उनीहरुले  मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो । 

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए । विपद् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहजरूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउँदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ । 

सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने सुझाव दिए । विपद्का जोखिम भएका बस्तीका मानिसलाई अत्यत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

यसैगरी सांसद इन्दिरादेवी गौतमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यन्वयनमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि कार्य गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिए ।

कार्यकारी निर्देशक भट्टले आगामी मनसुनमा गत वर्षको भन्दा राम्रो पूर्वतयारी गर्ने र जोखिम न्यूनिकरणका प्रयास गरिने बताए ।

सांसदहरु विष्णुकुमारी सापकोटा, राजेन्द्र लक्ष्मी गैरे, किरणबहादुर श्रेष्ठ, नारायणदत्त मिश्र, गोपीबहादुर सार्की आछामीले पनि विपद्को जोखिम न्यूनिकरणका लागि समयमा नै पूर्वतयारी गर्नुपर्ने, विपद्पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्तानान्तरण गर्नुपर्नेमा जोड दिए ।

ADV

सम्बन्धित खबर

Advertise