काठमाडौं : सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई एक तह बढुवा गरिएको छ ।
सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ८ जेठमा सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका सत्याललाई दज्र्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका छन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले सगरमाथा आरोहण गर्न सक्छु भन्ने भावना लिई साहसिक कार्य गर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र सङ्गठनको नाम समेत उच्च रहने बताए ।
उनले सगरमाथा लगायतका हिमालहरू आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस् भन्ने विश्वास प्रकट गर्दै आगामी वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरूमा हिमाल आरोहण गर्ने अभियान नै सुरु गर्ने बताए ।
४ जेठमा उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका थिए । सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि १५ बैशाखमा त्यसतर्फ प्रस्थान गरेका थिए ।