काठमाडौं : प्रतिनिधिसभामा वैदेशिक रोजगारीमा कामदार पठाउने विषयमा सरकारको कदम जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टिको आवाज उठेको छ । कोरोना भाइरस संक्रमणको शुरुवाता हुनुभन्दा अघि नै वैदेशिक रोजगारलाई व्यवस्थापन गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाबारे वैदेशिक रोजगार व्यवसायी र सरोकारवालाहरुले गुनासो गर्दै आएका थिए । सोमबार संसदमै त्यस विषयमा कुरा उठेको हो ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीमा जाने कामदार स्वदेशमा अलपत्र पर्दासमेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उचित कदम चाल्न नसकेको भन्दै मन्त्रालयबाट तत्काल संसदलाई जवाफ आउनुपर्ने माग गरे ।
कोरोना भाइरसको संक्रमण बढेपछि लाखौं नेपाली कामदार रोजगारी गुमाएर स्वदेश फर्किएको र उनीहरुलाई रोजगार दिने विषयमा सरकारले बेवास्ता गरेको भन्दै तत्काल उनीहरुलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने सांसद थापाले माग गरे ।
कोभिडका कारण उद्योगधन्दा पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकिरहेको भन्दै सांसद थापाले स्वदेश फर्किएका कामदारहरुको व्यवस्थापनको विषयमा सरकार उदासिन र मौन रहेको समेत दाबी गरे ।
उनले भने, ‘भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेर पनि रोजगारीका लागि गन्तव्य मुलुकमा जान नपाएएकाहरु महिनौंदेखि काठमाडौंमा अलपत्र परेका छन्, सरकारी तथ्यांकले भन्छ वैदेशिक रोजगारीमा रहेका लाखौंले रोजगारी गुमाएका छन् । नेपाल फर्किएका कामदारहरु फर्केर रोजगार गन्तव्यमा जान पाएका छैनन् । उनीरुको पुनः स्थापनाको बारेमा यो चमत्कारी सरकारले न केही सोच्छ न केही गर्छ ।’
सांसद थापाले इपीएस अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जान भाषा तथा सीप तालिम परीक्षा उत्तिर्ण गरेका करिब १० हजार ५ सय र प्रतिवद्ध वर्गमा करिब २ हजार गरी करिब १२ हजार ५ सय युवाहरु रोजगारीमा जाने प्रतिक्षामा महिनौंदेखि काठमाडौंमा अलपत्र परेको बताए ।
उनले भने, ‘फिलिपिन्स, म्यान्मार, श्रीलंकालगायतका देशबाट जाने कामदारलाई ती देशले पहलकदमी लिएर पठाए । तर नेपालले पहलकदमी लिएको छैन । पहलकदमी लिएको भए योयग्ता पुगेका युवायुवतीहरु रोजगारीका लागि यतिबेला कोरिया जान पाइसकेका हुन्थे ।’
गत वर्ष चैतपछि नेपाली कामदार दक्षिण कोरिया जान पाएका छैनन् । त्यसमध्ये ७ सयको भिसा रद्ध भएको बताइएको छ । कोरियाले नेपालसहित १६ राष्ट्रबाट लैजाने कामदार एक वर्षयता रोकिएको बताएको छ । कोरियाको संक्रमाक रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी कामदारको आगमन अनुमतिलाई रोक्का गरेपछि सियोलस्थित नेपाली दूतावास र श्रम मन्त्रालयले एचआरडीले खुलाउने पहल गरेपनि सफल हुन सकेका छैनन् ।
गत वर्ष कोरियामा कोरोनाको संक्रमण नफैलँदै नेपालले कामदारको सुरक्षाको कारण देखाउँदै कामदार पठाउन नसकिने धारणा कोरियासमक्षा राखेको थियो । नेपालको उक्त धारणापछि नेपालले आफ्नो मुलुकको संवेदनशीलताको सम्मान नगरेको कोरियाको असन्तुष्टि परराष्ट्र मन्त्रालयमा आएको थियो । सोही असन्तुष्टि हालसम्मपनि यथावत रहेको कारण नेपालीहरु भिसा पाएर पनि कोरिया जान नपाएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies