भोजपुर : मकै बालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकै बालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।
वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकै बालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए।
किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ । “यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ”, उनले भने, “फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।”
जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रूपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ ।
बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकै बालीमा फौजी किराको समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रणका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।