२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

छुटे लगत्तै फेरि पक्राउ परे युनुस अन्सारी

मध्यान्ह
२०८२ जेठ ११ गते १६:३९
छुटे लगत्तै फेरि पक्राउ परे युनुस अन्सारी

काठमाडौं : नक्कली भारतीय नोट प्रकरणमा कैद सजाय भुक्तान गरेर छुटेका बाराका युनुस अन्सारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

नख्खु कारागारबाट ६ वर्ष कैद भुक्तान गरी शनिबार मुक्त भएका अन्सारीलाई सीआईबीले शनिबार नै छुटे लगत्तै नियन्त्रणमा लिएको हो ।

सीआईबीका एसएसपी होबिन्द्र बोगटीले अन्सारीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको बताए । 

उनी कैद मुक्त हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई पत्र लेखेको थियो । त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी १७ माघमा कारागार चलान भएका थिए । त्यतिबेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।

तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेर सजाय भुक्तान गरी छुटेका थिए । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए ।
त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले शनिबार भुक्तान गरेका हुन् ।

हिरासतबाहिर राख्दा अन्सारीमाथि ‘सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको प्रहरीको भनाइ । अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पनि पर्दै आएका छन् । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भन्ने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए ।

यसबीच अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद पाएको छ ।  आइतबार अदालतमा उपस्थित गराइएका अन्सारीमाथि थप अनुसन्धानका लागि ५ दिनको म्याद दिइएको छ ।

 

ADV

सम्बन्धित खबर