२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

दुर्घटनाहरूमा ५ को मृत्यु, १२ घाइते

मध्यान्ह
२०८२ जेठ ११ गते १६:५३
दुर्घटनाहरूमा ५ को मृत्यु, १२ घाइते

काठमाडौं : तनहुँ र बर्दियामा भएको अलग अलग दुर्घटनाहरूमा ५ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनाहरूमा १२ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा ३ जनाको मृत्यु भएको छ ।
दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा ५ जना सवार थिए ।

दुर्घटनामा मृत्यु हुनेहरूमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, त्यही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।

यस्तै, बर्दियाको मधुवन नगरपालिका– ८ स्थित हुलाकी सडकअन्तर्गत लालसिंह चोकमा २ वटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै मोटरसाइकल चालक हुन् । गुलरिया नगरपालिका–२ का अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ र मधुवन नगरपालिका–८ लालीबजार निवासी अन्दाजी ३० वर्षीय टंकबहादुर विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैजना चालकको मृत्यु भएको हो ।

देवानन्दको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका–२ का अन्दाजी ३२ वर्षीय घाइते अनुपम यादवको बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौंबाट नुवाकोट प्रवेशका लागि छोटो दूरीको बालाजु–टोखा–छहरे–त्रिशूली सडकखण्डमा आइतवार एउटा यात्रुवाहक माइक्रोबस दुर्घटनाग्रस्त भएको छ । 

त्रिशूलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका–७ गुरुङगाँउमा दुर्घटना हुँदा ५ महिलासहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  उक्त माइक्रोबस सडकबाट १० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।  प्रहरीले गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
 

ADV

सम्बन्धित खबर