काठमाडौं : बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास अर्हत्को परिसंवादमा वक्ताहरूले बुद्ध बुद्धत्वको खोजीमा निस्किँझै लेखक बुद्धको खोजीमा निस्किएको बताएका छन् । शनिबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै समालोचक राजकुमार बानियाँले २०८१ सालमा प्रकाशित उपन्यास अर्हत अद्योपत पढ्नै पर्ने किताब रहेको उल्लेख गरे ।
त्यस्तै पत्रकार दीपक सापकोटाले बुद्धले आफ्नो जीवनमा तनाव पाएको र त्यसको बाबजुद उनले अर्हत् प्राप्त गरेको बताए । बुद्ध के हो ? बुद्ध कसरी चिन्नुपर्छ भन्ने कुरा पुस्तकले देखाएको जिकिर गरे । उनले भने, ‘काँडाको बाटोमा फूल कसरी फुल्छ ? थाहा पाउन यो पुस्तक पढ्नैपर्छ ।’
अन्य वक्ताहरू लेखक भुवनहरि सिग्देलले बुद्ध बनेर बुद्ध पात्र भएर लेख्दा भित्रै प्रवेश गर्नुपर्ने बताए । उनले थपे,‘यो किताब बुद्धको आत्मकथा हो ।’
करिब एक दर्जन वक्ताहरूले पुस्तकमाथि आफ्नो पाठकीय धारणा व्यक्त गरेका थिए । पुस्तक समीक्षक अनिता कोइराला साधारण मान्छेको रुपमा बुद्धलाई प्रस्तुत गरेको र पुस्तकले जीवन जिउने कला सिकाउने बताइन् ।
पुस्तक गत भदौमा शिखा बुक्सबाट प्रकाशनमा आएको हो । यस अगाडि अधिकारीका ‘निर्वेद’उपन्यास र ‘बह्मास्त्र’ कथा संग्रह प्रकाशित छन् ।