२०८२ जेठ १३ गते मङ्गलवार / May 27 , 2025 , Tuesday
२०८२ जेठ १३ गते मङ्गलवार
Ads

तीनकुने प्रकरण : दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

जीवन शर्मा
२०८२ जेठ १२ गते ०६:२५
तीनकुने प्रकरण : दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं : गत १५ चैत्रमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोललाई हिंसात्मक बनाएको अभियोगमा ६१ जनाविरूद्ध मुद्दा चलाइएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले ५५ दिन लगाएर बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधलगायतका कसुरमा मुद्दा दायर गरेको हो । 

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्तासमेत रहेका न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार ६१ जनाविरूद्ध आइतबार मुद्दा दर्ता भएको छ । त्यसबाहेक ४ जना नाबालकविरुद्ध पनि सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गरिने छ । जिल्ला प्रहरी परिसर काठमाडौंले कतिपयको परिचय र ठेगाना नखुल्ने गरी १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो । घटनामा संलग्न ४ जना बालबालिकाविरुद्ध छुट्टै अभियोग दर्ता गर्ने निर्णय भएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता निरौलाको भनाइ छ ।  

उक्त घटनामा संलग्न ६१ जना वयस्क उमेरका र ४ बालकसहितलाई प्रतिवादी बनाइएको थियो । तोफोड र लुटपाटमा संलग्न भएको अभियोग लागेकामध्ये ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको प्रवक्ता निरौलाले बताए । त्यस्तै ५० जनाविरूद्ध राजद्रोहको अभियोग लागेको छ । यसमध्ये राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दर्ता भएको छ ।  घटनामा २० जनालाई प्रहरीको गोली लागेको थियो भने दर्जनौं घाइते भएका थिए । आन्दोलनका कमाण्डर तोकिएका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईसहित ८ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा हरिहरि चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, सतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारू छन् । तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो ।

व्यक्तिका निजी सम्पति तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो । सोही घटनामा उनीहरूलाई प्रतिवादी बनाउँँदै मुद्दा दायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । १०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार छन । प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएका ३४ जनाविरूद्ध मुद्दा नचल्ने भएको पाइएको छ । ‘संलग्नता अनुसार फरक–फरक मुद्दा चलाइएको छ, दुर्गा प्रसाईंको हकमा कर्तव्य ज्यान समेत छ’,  जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘अधिकांशलाई म्याद थपिए अनुसारकै कसुरमा मुद्दा दायर भएको छ ।’ प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार नै रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । घटनास्थलबाट भागेका प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर ल्याएको थियो ।  

रविन्द्र र धवलविरूद्ध ४ मुद्दा 

घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । उपाध्यक्ष मिश्र र राणाविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय गर्नुपर्ने माग दाबी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । 

१५ चैतमा पक्राउ परेका राणलाई बिरामी भएपछि ४ हप्तामै हाजिर जमानतमा छाडिएको थियो भने मिश्रलाई ५१ दिनपछि छाडिएको थियो । हाजिर जमानतमा छुटेका उनीहरू अहिले प्रहरी सम्पर्कमा छैनन् ।  


 

ADV

सम्बन्धित खबर