२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा

shivam cement
२०८२ जेठ १२ गते ११:३६
Shares
पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा

इलाम : इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ । 

इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । संघीय सरकारको रु एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उनले बताए । बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ । 

 निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । “बेलिब्रिजको सबै सामान ल्याएर जडान सुरु भएको छ, समग्रमा लगभग ७० प्रतिशत काम सकिएको छ”, इञ्जिनियर घिमिरेले भने, “अब ठेल्ने काम बाँकी छ, जोड्दै ठेल्दै गर्नुपर्ने भएकाले त्यसका लागि केही समय लाग्ने रहेछ ।” यस स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण सुरु भएको हो । यसअघि पुल नहुँदा यात्रीहरु जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । मध्य बर्खामा भने सो सडक पूर्ण रुपमा बन्द हुने गरेको थियो । 

बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्सातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ । बाँकी रहेको भागमा समेत काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए । 

ताजा खबर

सम्बन्धित खबर