२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

डोल्पाली कृषकलाई मार्सी धान रोप्ने चटारो

पुर्ण कुमार
२०८२ जेठ १२ गते १३:१७
डोल्पाली कृषकलाई मार्सी धान रोप्ने चटारो

डोल्पा : हिमाली जिल्ला डोल्पामा धान रोपाइँ सुरु भएको छ । डोल्पाका त्रिपुराकोट, जुफाल, गल्ली, खदाङ, लिकु, दुनै, रल्ली लगायतका बस्तीहरूमा धान रोपाइँ गरिँदै आएको छ।

जिल्लाको अधिकाशं भुगोल भिरालो एवं सिँचाइ सुविधाविहीन भएकाले सीमित क्षेत्रमा मात्रै धान रोपाइँ गर्ने गरिन्छ । जिल्लाको अधिकांश भूगोलमा कोदो, फापर, चिनो, मकै लगायतका अन्नबाली मात्र लगाउने गरिन्छ ।

बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने चटारोसँगै डोल्पाली कृषहरूलाई यतिबेला धान रोपाइँको चटारो पनि छ । धान रोपाइँको सिजन सुरु भएसँगै डोल्पाका फाँटीला ज्युलाहरू खेतालाहरूले भरिभराउ भएका छन् । "रोप, रोप रोप्नेरीऔ असारमा गोडौली, आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली" यसरी गीत गाउँदै धान रोपाइँ गर्छन् कृषकहरु ।

परम्परागत बालीको रुपमा चिनिने धान रोप्न धेरै खर्चिलो हुने कृषहरू बताउँछन् । यार्सागुम्बा सिजन चलिरहेको बेला धान रोपाइँ सुरु हुने भएकाले खेताला नपाएर समस्या हुने त्रिपुरा सुन्दरी नगरपालिका १ का रवि प्रसाद न्यौपानेले बताए । यस समयमा मान्छेहरू सबै यार्सागुम्बा टिप्न यार्सा पाटन जाने भएकाले पनि काम गर्ने मान्छे पाउन समस्या भएको हो ।

जेठदेखि असारसम्मको समयमा सबै यार्सापाटनतिरै आम्दानी गर्न जाने भएकाले एक जना मान्छेलाई काममा लगाउन सात सयदेखि एक हजारसम्म ज्याला तिर्नुपर्ने न्यौपानेले बताए ।
डोल्पामा रातो, औंलेमार्सी, कालीमार्सी लगायतका प्रजातिका धान रोप्ने गरिन्छ ।

प्रतिष्ठित व्यक्तिहरूको रोजाइमा पर्ने भएकाले कालीमार्सी र रातो धानको चामल नेपालगञ्ज, काठमाडौं, सुर्खेतलगायतका शहरमा माग हुने गरेको छ । प्रतिकिलो ३०० सम्म पर्ने रातो र कालीमार्सी धानको चामल अतिथि सत्कार र आफन्तहरूलाई दिइने नासोको रुममा समेत प्रयोग गर्ने गरिन्छ ।

तर डोल्पाका अधिकांश भुगोलमा बलौटे र पत्थरीलो माटोयुक्त भएकाले धान उत्पादन राम्रो नहुने स्थानीय बताउँछन् । डोल्पाको माटो स्याउ, ओखर, आरु, कागतीलगायतका फलफूल उत्पादनका लागि उपयुक्त मानिन्छ ।

डोल्पामा जेठमा रोपिएको धान असोज महिनामा भित्र्याउने गरिन्छ । धान रोपाइँको अवसरमा बाजागाजासहित रोपार्नीहरूले चुट्कीला मागलहरू गाँउदै एकआपसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन पनि रहेको छ ।

ADV

सम्बन्धित खबर