नवलपरासी : पश्चिम नवलपरासीस्थित पाल्हिनन्दन गाउँपालिका र यसअन्तर्गतका वडाहरूले विकासप्रति चासो नदेखाएको स्थानीयवासीहरूले आरोप लगाएका छन् । कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारजस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसकेको उनीहरुको भनाइ छ ।
स्थानीय कृषकहरूका अनुसार पालिकाले अहिलेसम्म कुनै प्रभावकारी कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छैन । साथै, मल, बीउबिजन तथा सिंचाइका सामग्रीसमेत उपलब्ध गराउन नसकेको उनीहरूको गुनासो छ । वडानम्बर ५ का एक कृषकले भने, “हामी कृषिमा आश्रित छौं, तर पालिकाबाट कुनै योजना देखिँदैन । न त कर छुटको व्यवस्था छ, न त अनुदान प्राप्त गर्न सकिन्छ ।”
यसैबीच, वडानम्बर १ का बासिन्दाहरूले कृषि योजनाको वितरणमा पक्षपात भएको आरोप लगाएका छन् । “कार्यकर्ता र पहुँचवालाहरूलाई मात्र योजना लाभ दिने गरिएको छ । सर्वसाधारणको पालो आउँदैन,” एक स्थानीयले बताए ।
शंकरपुर क्षेत्रअन्तर्गतका सडकहरूको अवस्था झनै दयनीय रहेको छ । वर्षा सुरु हुनासाथ सडक हिलाम्मे भई आवागमनमा अत्यन्त कठिनाइ हुने गरेको स्थानीयहरूको गुनासो छ । यसले दैनिक जीवन प्रभावित बनाएको उनीहरूको भनाइ छ ।
त्यस्तै, रोजगारी सिर्जना, शिक्षा सुधार तथा स्वास्थ्य सेवाको क्षेत्रमा पनि पालिकाले अपेक्षाअनुसार काम नगरेको जनगुनासो छ । “पालिकाको बजेट कागजमै सीमित देखिन्छ, वास्तविक रूपमा गाउँमा कुनै काम भएको देखिँदैन,” वडा नम्बर ३ का एक युवाले बताए ।
कतिपय विकास निर्माणका कामहरू अलपत्र अवस्थामा छन् भने केही स्थानमा त काम सुरु नै भएका छैनन् । यस्तो अवस्थाले गाउँपालिकाप्रति जनविश्वास कमजोर हुँदै गएको देखिन्छ ।
स्थानीयवासीहरूले चाँडै प्रभावकारी योजना ल्याइ पारदर्शीरूपमा कार्यान्वयन गर्न पालिकासँग माग गरेका छन् ।