सिरहा : विवाहित महिलाले मात्र मनाउने वट सावित्री पर्व सोमबार मनाइएको छ । पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै सिरहा लगायत मिथिलाञ्चलक्षेत्रमा महिलाहरुले हर्षोल्लाषका साथ वट सावित्री पर्व मनाएका छन् ।
प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
पान, सुपारी, केरा, फलफूल, धुप लगायतका विभिन्न पूजन सामग्रीका साथ व्रतालु महिलाहरु वर र पिपलको रुखमुनि बसेर आफ्ना पतिको दिघार्यूको कामना गरी पूजापाठ गर्दै वर र पिपलको रुखमा रातो र पहेलो धागो बेर्ने गर्दछन् ।
वट सावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ समेत भनिन्छ । प्राचिन कालमा सती सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यस पूजा गर्न सुरु गरेको विश्वास रहिआएको छ ।
सावित्रीले यो पर्व गरेकोले यमराजबाट पतिको प्राणलाई फिर्ता ल्याएको र पति जीवित भएको प्रसंग धार्मिक शास्त्रमा उल्लेख छ ।
जेठ कृष्ण आमावस्या (औँसी)का दिन पतिको दीर्घायु र पारिवारिक सुख समृद्धिको कामनासहित नवविवाहिताले बिहान सूर्योदयसँगै ब्राह्मण पुरोहितलाई भोजन र दक्षिणा दिएर आफ्ना पतिलाई अभिषेक गर्दै वरसाइत पर्व मनाउँदै छन् । सोमबार आफ्नो गाउँनगर नजिकको वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिएको छ ।