काठमाडौं : नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन, बागमती प्रदेश समितिको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युनियनका प्रदेश अध्यक्ष अभिषेक चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै ने.वि.प्रा.का केन्द्रीय अध्यक्ष रामकुमार थेबे विशेष अतिथि रहेका थिए । उक्त शिविर काठमाडौं मेडिकल कलेजको सहकार्यमा आयोजित गरिएको थियो । युनियनको ३५औं वार्षिकोत्सवको अवसरमा गरिएको यस कार्यक्रमलाई अत्यन्तै सफल र प्रभावकारी मानिएको छ ।
स्वास्थ्य शिविरमा ने.वि.प्रा.मा कार्यरत ३ सय ६० जना कर्मचारीहरू र विभिन्न विभागमा गरी एक हजार ७ सयभन्दा बढी सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा आँखादेखि लिएर सामान्य स्वास्थ्य जाँच, रक्तचाप, मधुमेह, दन्त, नाक, कान, घाँटी, इसीजी, भिडियो एक्सरे, रगत जाँच सेवा लगायतका परीक्षणहरू प्रदान गरिएको थियो ।
प्रदेश अध्यक्ष चौहानका अनुसार यस्तो कार्यक्रमले कर्मचारीहरूमा सेवा भाव, सामाजिक उत्तरदायित्व र सहकार्यको भावना थप बढाएको छ । उनले यस्ता रचनात्मक तथा जनहितकारी कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा संचालन गरिने जानकारी दिए ।