प्यूठान : प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्णप्रसाद बसेलले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर अस्पताल बनाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार दिउँसो पहिला नागरिकलाई रगत दान गरेपछि प्यूठान अस्पतालको सभाहलमा आयोजना गरिएको पदभार ग्रहण तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष बसेलले आफू प्यूठानको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले काम गर्ने बताएका हुन् ।
उनले आफूले उद्योग, व्यवसाय राजनीति शैक्षिक धार्मिक र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसँगै स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग राय सुझाव लिएर प्यूठान अस्पताललाई नमूना बनाउने गरी काम गर्ने बताए ।
‘मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि होइन’अध्यक्ष बसेलले भने‘म अस्पताल प्रशासनलाई सहयोग गर्न, यहाँका समस्या समाधान र बजेटका लागि प्रदेश र केन्द्र सरकारसँग डटेर कुरा राख्न आएको छु । अस्पतालको अलपत्र भवन निर्माण गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।’
अस्पतालमा बिरामीको अत्यधिक चाप रहेकाले आफ्नो कार्यकालमा थप नयाँ भवनहरु निर्माण गर्ने अस्पतालको स्तरउन्नति गर्ने विवशेषज्ञ सेवा उपलब्ध गराइ पहाडि जिल्लाको नमुना अस्पताल बनाउने आफ्नो योजना रहेको बताए ।
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई नागरिकले दोस्रो भगवानका रुपमा लिने भएकाले आफ्नो जिम्मेवारी अनुसार मुस्कानसहितको सेवा दिन अध्यक्ष बसेलले आग्रह गरे । आफूले सुरुमा सय दिने, ६ महिने र एकवर्षे कार्ययोजना बनाएर काम गर्दै भविष्यमा नेपालकै नमूना र अग्रणी अस्पताल बनाउने गरी काम गर्ने अध्यक्ष बसेले दाबी गरे ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.ओम प्रसाद अर्यालले लामो समयसम्म अध्यक्ष नियुक्ति नहुँदा अस्पताल अभिभावक विहीन बनेको गुनासो गर्दै अब राजनीति भन्दामाथि उठेर काम गर्ने युवा सक्षम नेतृत्व पाएको भन्दै खुसी व्यक्त गरे ।