काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन (जिडिपी) करिब ६१ खर्ब भन्दा बढी पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक तथ्यांकअनुुसार ६१ खर्ब ७ अर्ब रुपैयाँ कुल गार्हस्थ उत्पादन हुने अनुमान गरिएको हो ।
जिडिपी उपभोक्ताको मूल्यमा करिव ६१ खर्व ७ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.५२ प्रतिशत, कोशी प्रदेशले १५.९० प्रतिशत, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत, मधेश प्रदेशले १३.१६ प्रतिशत, गण्डकी प्रदेशले ८.९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.०३ प्रतिशत र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको योगदान घट्ने र मधेश र बागमती प्रदेशको बढ्ने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशको हुने देखिन्छ । गण्डकीको ५.५१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । त्यसपछि बागमती प्रदेशको ५.१८ प्रतिशत वृद्धि हुने देखाइएको छ ।
यस्तै सबैभन्दा थोरै सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत वृद्धि हुने अनुमान तथ्यांक कार्यलयले गरेको हो । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान गरिएको तथ्यांक कार्यलयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जनाकारी दिए ।
प्रतिव्यक्ति आय १४ सय ९६ डलर पुग्ने
आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति आय १४ सय ९६ डलर पुग्ने अनुमान गरिएको छ । प्रदेशगत आधारलाई हेर्ने हो भने सबैभन्दा धेरै बागमती प्रदेशमा बस्ने व्यक्तिको प्रतिव्यक्ति आय धेरै हुनेछ । राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार वाग्मतीको प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६ सय २ अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
यस्तै, गण्डकी प्रदेशको १ हजार ६ सय १९, कोशी प्रदेशको १ हजार ४ सय १, लुम्बिनी प्रदेशको १ हजार २ सय १, सुदूरपश्चिम प्रदेशको १ हजार १ सय ५३, कर्णाली प्रदेशको १ हजार ८९ हुने प्रारम्भिक अनुमान गरिएको छ । सबैभन्दा कम मधेश प्रदेशको हुने देखिएको छ । मधेश प्रदेशमा ९ सय ३२ डलर मात्र प्रतिव्यक्ति आय हुने अनुमान कार्यालयले गरेको छ ।
चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति आय बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम हुने देखिन्छ । यस्तै आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी हुने देखिन्छ ।
वागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी हुने तथ्यांक कार्यालयले जनाएको छ । त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार पहिलो र दोस्रोमा सेवाको हिस्सा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँसमा रहने अनुमान गरिएको छ ।