२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

१० महिनामा ७ लाख कामदार विदेशिए

२०८२ जेठ १३ गते ०६:१५
१० महिनामा ७ लाख कामदार विदेशिए

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा करिब ७ लाख नेपाली युवायुवती रोजगारी खोज्दै विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि वैशाख मसान्तसम्ममा ६ लाख ८५ हजार ९२४ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा महिला ७७ हजार ८५ जना र पुरुष ६ लाख ८ हजार ८३९ जना रहेका छन् ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । वैशाखसम्मको तथ्यांकले अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष धेरै नेपाली वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता देखाएको छ ।

वैशाख महिनामा ७८ हजार ५१ जना रोजगारी खोज्दै विदेशिएका छन् । यो संख्या सम्भवतः मासिकरूपमा रोजगारी खोज्दै देश छोड्ने युवायुवतीहरूको हालसम्मकै सबैभन्दा धेरै हो । त्यसमा म्यानपावर कम्पनीमार्फत ३३ हजार ११ जना, रिइन्ट्रीका माध्यमबाट ३० हजार ६६२ जना तथा व्यक्तिगत श्रम स्वीकृतिमा १३ हजार ३६९ जना गएका छन् ।

विभागको तथ्यांकअनुसार संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत श्रम स्वीकृतिमा जाने क्रम व्यापक बनेको देखिएको छ । १० महिनामा म्यानपावर कम्पनीबाट २ लाख ८६ हजार ९४१ र रिइन्ट्रीका माध्यमबाट २ लाख ८० हजार ३१८ जना गएका छन् भने सो अवधिमा १ लाख ८ हजार ४०२ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् । अघिल्ला महिनाहरूमा म्यानपावर कम्पनीहरूले पठाउने संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा ३० प्रतिशत हाराहारीमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने गरेकोमा वैशाखमा करिब ८ प्रतिशत बढी व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् ।

व्यक्तिगत श्रम स्वीकृतिका आधारमा जानेक्रम बढ्दा जोखिम पनि बढ्दै जाने वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले युरोपेली मुलुकमा कम्पनी परिवर्तन भएपनि व्यक्तिगत श्रम स्वीकृति दिएर विभागले नै असुरक्षित वैदेशिक रोजगारलाई मलजल मात्रै नगरी संरक्षण नै गरेको टिप्पणी गरेका छन् । उनीहरूले सार्वजनिकरूपमा नभइ विभागका नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईका अगाडि नै यस्तो टिप्पणी गर्दै बद्मासी रोक्न माग गर्ने गरेका छन् ।

१० महिनाको अवधिमा सरकारले जी टु जी माध्यमबाट पठाउने दक्षिण कोरिया, इजरायल र बेलायतमा सरकारी लगानीको तुलनामा उल्लेख्य मात्रामा नेपाली कामदार जान सकेका छैनन् । १० महिनाको अवधिमा ती तीन मुलुकमा जम्मा १० हजार २६३ जना गएको देखिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर