रौतहट : एक नेपाली हजयात्री हज्जको प्रक्रिया पूरा नगरीकनै नेपाल फिर्ता भएका छन् । हिजो राति एयर अरेबियाको विमानबाट यमूनामाई गाउँपालिका वडा नं. ३ मलहनिया, रौतहटका ७५ वर्षीय कर्मुल्ला शेख नेपाल आइपुगेका हुन् ।
हजको प्रक्रिया सुरु नभईकनै उनी नेपाल फिर्ता भएका हुन् । बिरामी भएपछि हज नगरीकनै फर्कने निवेदन गरेपछि नेपाल हज समितिले उनलाई फिर्ता हुन व्यवस्था मिलाएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँले बताए ।
हिजो राति सोही बिमानमा यात्रा गरी नेपाल आएका यात्री लुकमान राइनले पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनलाई खबर गरेपछि मन्त्री हुसैनले आफन्त र हज समितिका कार्यवाहक अध्यक्षलाई खबर गरेका थिए । कार्यवाहक अध्यक्षले हुसैनलाई भने, ‘उक्त हज यात्रीलाई नेपाल फिर्ता गर्ने प्रक्रिया पूरा गरेर विमानमा चढाउने र नेपालमा उनका नातेदारलााई खबर गर्ने कार्य भएको छ ।’
विमानका यात्री राइनका अनुसार फिर्ता भएका हज यात्री शेख विक्षिप्त अवस्थामा विमानको यात्राभरि रुँदै आएका थिए । उनले उक्त हज यात्रीलाई विमानस्थलका अधिकारीको जिम्मा लगाई पूर्वमन्त्री हुसैनलाई खबर गरेका थिए ।