२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मध्यान्ह
२०८२ जेठ १३ गते १८:१३
नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा : सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाका पूर्वपदाधिकारीहरू तथा कर्मचारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्व उपाध्यक्ष शोभा कुमारी र प्रशासकीय प्रमुख अमरेन्द्र कुसियैतसहित अन्य कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरूलाई समेत प्रतिवादी बनाउँदै भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको जनाएको छ । यस्तै इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव र मनोजकुमार यादव, योजना शाखाका पूर्व प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजयप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर भएको छ ।

मुद्दा दायर गरिनुको मूल कारण भनेको नवराजपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा देखिएको अनियमितता हो । अख्तियारका अनुसार, ३७ लाख ७५ हजार ४३६ रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गर्ने भनिएको उक्त भवन निर्माणको सम्झौता २०७७ साल जेठ ३२ गते गरिएको थियो । भवन असार १५ गतेसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको थियो । तर, अख्तियारको छानबिनमा प्राविधिक मूल्यांकनमा त्रुटि भएको पाइयो, जसका आधारमा उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रुपैयाँ भुक्तानी गरिएको थियो ।

यस प्रकरणमा उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवलाई समेत प्रतिवादी बनाइएको छ । आयोगको आरोपपत्रमा उल्लेख भएअनुसार, भवन निर्माणका लागि बनाइएको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) को तर्जुमा देखि निर्माण सम्पन्न हुने र त्यसको भुक्तानी दिने कामसम्मको सम्पूर्ण प्रक्रियामा कानुनी मापदण्ड र प्राविधिक मापदण्डको उल्लंघन गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर