२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

राजस्व उठाउने क्षेत्र खोज्दै अर्थमन्त्री

छबि सापकोटा
२०८२ जेठ १४ गते ०६:३५
राजस्व उठाउने क्षेत्र खोज्दै अर्थमन्त्री

काठमाडौं : विपक्षी दलको अवरोधका कारण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्न सकेनन् । १५ जेठमा संसद् बैठकबाट बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट भन्दा अघि नै आर्थिक सर्वाेक्षण संसदमा पेश गर्नुपर्ने हुन्छ ।

तर, मंगलबारको संसद बैठकमा विपक्षीको अवरोधको कारण बजेटको कार्यतालिकामै असर गर्ने देखिएको छ । बिहीबार संसद्का दुवै सदनको संयुक्त बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने भएपनि मंगलबारको संसदको दृश्यले बुधबार पनि प्रतिपक्षले संसद अवरोध गर्ने संकेत गरेको छ  । बुधबार समेत संसदमा सहमति हुन नसक्ने हो भने आर्थिक सर्वाेक्षण र बजेट एकै दिन सार्वजनिक गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ ।

अर्थमन्त्री पौडेलले वैदेशिक अनुदान घट्ने भएपछि राजस्व उठाउने क्षेत्र आर्थिक ऐन मार्फत् खोजिरहेका छन् । धेरै कर बढाउँदा जनतामा सरकारप्रति निराशा थप्ने भएकाले बढी राजस्व उठ्ने क्षेत्रमा कर र भन्सार दरकै विषयमा अर्थमन्त्रीको टिमले काम गरिरहेको छ । 

अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटको अन्तिम ड्राफ्ट तयार गरेका छन् । बिहीबार संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणा गर्नुपर्ने भएकोले बजेटमा करका दर बाहेक अरु सबै लेखन सकाएका हुन् । अर्थ मन्त्रालयमा अहिले प्रवेशद्वार नै बन्द गरेर बजेटलाई अन्तिम रुप दिइँदैछ । बिहीबार बिहान फाइनल गरेर सिंहदरबार स्थित मुद्रण विभागमा छाप्ने तयारी भएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।  

मंगलबार अर्थमन्त्री पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२/८३ को  वजेटका बारेमा ब्रिफिङ समेत गरेका छन् । मन्त्री पौडेलले राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका हुन् । बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रूपमा अघि बढाउनु पर्ने भएकाले मन्त्रालयमा कर्मचारी बाहेकलाई प्रवेशमा रोक लगाइएको मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले बताए ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले बजेट आउने दिनसम्म दलहरू सहमतिमा पुग्ने बताए । उनले बजेट संसदबाटै आउने भन्दै विपक्षीदलले संवैधानिक व्यवस्थामै १५ गते बजेट ल्याउनपर्ने भएकाले सहमति भएर बजेट आउने विश्वास व्यक्त गरे । 

चालु आर्थिक वर्ष बजेट घोषणा अघि पनि संसद अवरोध थियो । सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तत्कालीन प्रीतपक्ष दल नेपाली कांग्रेशले सदन अवरोध गरेको थियो । 

तर, बजेट भाषण गर्ने दिन भने बजेट ल्याउन दिइएको थियो । यस्तै अर्थमन्त्री सुरेन्द्र पाण्डे बजेट भाषण गर्न संसदमा जाँदै गर्दा माओवादीका तत्कालीन सांसद सूर्यमान दोङले ब्रिफकेस नै फुटालेका थिए । बजेट कार्यक्रम अवरोध भएपछि अध्यादेश मार्फत् बजेट ल्याइएको थियो । अहिले पनि संसद अवरोध कायम नै रहे सरकारले फेरी अध्यादेश मार्फत् समेत बजेट ल्याउने सम्भावना छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर