२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

न्यायपूर्ण नेपाल निर्माण गर्नु गणतन्त्रको साँचो सम्मान हो : सभामुख

Nada
२०८२ जेठ १५ गते ०९:०९
Shares
न्यायपूर्ण नेपाल निर्माण गर्नु गणतन्त्रको साँचो सम्मान हो : सभामुख

काठमाडौँ : सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन् । १८औँ गणतन्त्र दिवसका अवसरमा आज देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरा व्यक्त गरेका हुन् ।

ncell

उनले गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित रहनु हुँदैन भन्दै गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताए। सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्रमा देखिएको गणतन्त्र विरोधी गतिविधि केवल संविधानको अवमूल्यन मात्र नभई सहिदहरूको अपमान पनि भएको बताए । उनले आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता एकजुट भएर अस्वीकार गर्नुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सन्देशमा उल्लेख गरेका छन्, “गणतन्त्र दिवसमा सबै नेपालीहरूले गणतन्त्रको रक्षा, प्रवर्द्धन र सुदृढीकरणमा समर्पित भएर राष्ट्रलाई स्थायित्व, विकास र समृद्धिको दिशामा सफलीभूत गराउने संकल्प लिन जरुरी छ । देश गणतन्त्रमा प्रवेश गरेसँगै राजनीतिक संरचना, शासन प्रणाली र नागरिक अधिकारको परिभाषा नै परिवर्तन भएको छ, यो ऐतिहासिक परिवर्तन केवल राजतन्त्रको अन्त्य मात्र थिएन नेपाली जनताको लामो संघर्ष, बलिदान र जनआकांक्षाको औपचारिक जित पनि थियो ।”

नेपाली जनताका प्रतिनिधिमार्फत विसं २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र दिवस जनताको बलिदानीपूर्ण संघर्षलाई स्मरण गराउने प्रत्येक नेपालीको साझा गौरवको दिन भएको उनको भनाइ छ । “गणतन्त्र दिवस २०८२ को यस ऐतिहासिक अवसरमा गणतन्त्र स्थापनामा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजनीतिक दल, नागरिक समाजका अगुवा तथा नेपाली जनताको योगदानको उच्च कदर गर्न चाहन्छु ।” 

सम्बन्धित खबर