काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।
अहिले राजतन्त्तको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरुलाई नचाहिएको उनले बताए । उनले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौती दिए । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको उनले बताए ।
अध्यक्ष नेपालले भने, ‘गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाती, नातीले कुन दिन पनाती जन्माउँछ, जन्मिदै गरेको पनातीलाई जिम्मा दिउँ भन्नेकुरा आउला । त्यसकारण यस्तो वंशको शासन हामीलाई चाहिएको छैन । मुलुक सञ्चालन गर्ने यदी कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिष्पर्धाको मैदानमा चुनौति दिन्छौं । प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुपर्यो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन । सम्भव हुन दिँदैनौँ । हिजो पनि गणतन्त्रको निम्ति हाम्रो पार्टीले नै अग्रगामी भुमिका खेलेको थियो । अरुमा त्यस्तो आँट देखिएको थिएन ।’
अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गरे । परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनले बताए