२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

गोसाइँकुण्ड मेलामा लेक लाग्ने यात्रीलाई विशेष व्यवस्था

shivam cement
२०८२ जेठ १५ गते १७:२६
Shares
गोसाइँकुण्ड मेलामा लेक लाग्ने यात्रीलाई विशेष व्यवस्था

रसुवा : बुधबारदेखि सुरु भएको गोसाइँकुण्ड मेलामा आउने तीर्थ यात्रीका लागि आवश्यक उद्धारको व्यवस्था मिलाइएको छ ।

समुद्र सतहबाट ४३८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थमा आउने यात्रीलाई बेत्रावतीबाट गोसाइँकुण्डसम्म विशेष सुरक्षा व्यवस्था मिलाउनुका साथै लेक लागेर बिरामी परेका यात्रीलाई उद्धारको समेत व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

तीर्थ जाँदा लेक लाग्ने समस्यामा परेका बिरामीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा निकायले उद्धार गर्ने व्यवस्था मिलाइएको छ ।

विगतको तुलनामा यस वर्ष भक्तजनको आगमन बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीर्थका लागि निस्केका १ हजारभन्दा बढी यात्री बुधबार साँझ चन्दनबारी पुगेका र ती यात्री बिहीबार बिहानैदेखि लौरी विनायक उकालो उक्लदै गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यात्रीका लागि काठमाडौंको बालाजुबाट धुञ्चेसम्म बस, हाइसलगायत यात्रीवाहक सानाठूला सवारीसाधन सञ्चालनमा आएकाले धार्मिक यात्रामा सवारीसाधनको अभाव नहुने यातायता व्यवसायीले बताएका छन् ।

धुञ्चेबाट माथि लागेपछि खन्ति, देउराली, चन्दनबारी, चोलाङ्पाटी, लौरी विनायक र गोसाइँकुण्डमा क्षेत्रमा होटल तथा लज अनुगमन गरिसकेको जनाउँदै पौडेलले आगन्तुक तथा धार्मिक यात्रीलाई सुलभ रूपमा सेवा प्रदान गरिदिन व्यवसायीलाई अनुरोध गरिएको बताए ।

उकालो हिँड्दा बढी स्वास्वा फ्याफ्या हुने यात्रीका लागि चन्दनबारीमा घोडाको समेत व्यवस्था भएकाले गोसाइँकुण्डसम्म पुग्न सहज वातावरण पाइएको तीर्थ यात्रीले बताएका छन् ।

चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई तीर्थमा निस्कन र धार्मिक मार्गमा कुनै समस्या परेमा गस्तीमा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न पौडेलले अनुरोध गरे ।
 

ताजा खबर

सम्बन्धित खबर