२०८२ जेठ १८ गते आइतवार / Jun 01 , 2025 , Sunday
२०८२ जेठ १८ गते आइतवार
Ads

प्रेस काउन्सिलको गर्विलो कार्य- ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’

मध्यान्ह
२०८२ जेठ १७ गते ०६:३०
प्रेस काउन्सिलको गर्विलो कार्य- ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’

काठमाडौं : प्रेस काउन्सिल नेपालले ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ नामक पुस्तक ल्याएको छ । शुक्रबार एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पुस्तकको संयुक्तरूपमा विमोचन गरे ।

पुस्तकले नेपाली मिडियाको छापादेखि डिजिटल युगसम्मको इतिहासलाई समेटेको छ ।

पुस्तकको प्रधान सम्पादक काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत रहेका छन् भने सम्पादक मण्डलमा श्रीरामसिंह बस्नेत, झबिन्द्र भुसाल र दीपक खनाल रहेका छन् । सम्पादन सहयोगीका रूपमा राधेश्याम अधिकारी र सन्तोष अधिकारी रहेका छन् ।

नेपाली मिडियामा अनुसन्धान गरिरहेका डा. कुन्दन अर्याल, डा. रघु मैनाली, डा. जगत नेपाल, तीर्थ कोइराला, शुभेच्छा विन्दु तुलाधर, उज्ज्वल आचार्य, भुवन केसी र रुद्र खड्काका अनुसन्धानमूलक आलेख पुस्तकमा छ ।

पुस्तकमा नेपाली पत्रकारिताले भोगेको कठिन अवस्था र विभिन्न कालखण्डमा गरेको संघर्षको गाथा समेटिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि मन्त्री पन्तले दक्षिण एसियाका अन्य देशहरूभन्दा नेपालको प्रेस बढी स्वतन्त्र रहेको बताए । ‘पत्रकार बेपत्ता हुनुपरेको छैन, जागिर गुमाउनुपरेको छैन । तुलनात्मक रूपमा यहाँको अवस्था सुधारोन्मुख छ’, उनले भने ।

मन्त्री पन्तले पत्रकारले लडेर ल्याएको प्रेस स्वतन्त्रतालाई संरक्षण गरी राख्नुपर्नेमा जोड दिँदै पत्रकारका क्षेत्रका काम गर्ने निकायलाई सक्षम, प्रभावकारी बनाउँदै प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताए । नेपाल पत्रकार महासंघका महासचिव, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य र  विभिन्न पत्रिकाका सम्पादक रहिसकेका मन्त्री पन्तले अहिलेको अवस्थामा पत्रकारिताको गरिमा जोगाउने चुनौती भएकाले सम्पादकहरू बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिए । पत्रकारिताको सम्पत्ति भनेको विश्वसनीयता भएकाले त्यसलाई नबिर्सन उनले सम्पादकहरूसँग आग्रह गरे । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले पछिल्लो समय सञ्चारमाध्यममा भएका परिवर्तन कोशेढुंगाका रूपमा रहेका उल्लेख गर्दै समाचारका विषयवस्तुमा बृहत् छलफल गर्नु आवश्यक देखिएको बताइन् । ज्ञान र बुद्धि बढाएर समाज रुपान्तरणमा पत्रकारिताले के गरेको छ भन्ने प्रश्नमा गम्भीर भएर लाग्न सबै सञ्चारजगतलाई उनले आग्रह गरिन् ।

यस्तै, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकाशित पुस्तकले नेपाली पत्रकारिताको हिजोको कठिन अवस्था, विभिन्न कालखण्डका संघर्ष र यथार्थ बोकेको बताए ।

‘पत्रकारितामा विश्वासको धागो मक्किँदै जान थालेको छ । अफवाह र आधारहीन सूचना तथा समाचार छरिएका छन् । पत्रकारिताको मूल मर्ममा हामी सबै गम्भीर हुन आवश्यक छ’, उनले भने । अध्यक्ष बस्नेतले पुस्तक अंग्रेजी संस्करणमा पनि प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपाली सञ्चारमाध्यमको इतिहास छापादेखि डिजिटल प्रविधिसम्म आउँदा विश्वसनीयता गुम्दै गएको हो कि भन्ने अवस्था देखिएको बताइन् । ‘सञ्चारमाध्यममा आएका आधारहीन र तथ्यहीन सामग्रीलाई कसरी परास्त गर्ने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ’, उनको भनाइ थियो ।

पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारिताका नयाँ र पुराना पुस्ताबीच सार्थक संवादको आवश्यकता देखिएकोमा जोड दिए । उनले यस्तो छलफल अघि बढाउन र सञ्चारमाध्यमसँग चासो राख्ने सबैलाई यो पुस्तक उपयोगी हुने बताए ।

छापा, टेलिभिजन, रेडियो र न्यूज पोर्टल न्यूमिडियाको भूमिका र जिम्मेवारी समयअनुसार फरक–फरक देखिए पनि मूल ध्येय पाठक तथा स्रोतालाई सुसूचीत गराउने र जागरण ल्याउने रहेको उनले बताए ।

कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेल, डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतीक प्रधान, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठ, वरिष्ठ पत्रकार तीर्थ कोइराला, डिजिटल मिडिया अलाइन्स नेपालकी उपाध्यक्ष मोनिका सिंहलगायतले नेपाली पत्रकारिता र यसको चुनौती र अवसरका बारेमा धारणा राखेका थिए । 

May be an image of 6 people and table

कार्यक्रममा मूलधारका सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

नेपाली पत्रकारिताको इतिहास लेखन कार्यमा करिब ६ दशकपछि आएको यो पुस्तक नेपाली पत्रकारितामा रुची राख्नेहरूका लागि काउन्सिलको सराहनीय कार्यको रूपमा लिइएको छ । उक्त पुस्तकको सम्पादन वरिष्ठ पत्रकार श्रीराम सिंह बस्नेतले गरेका हुन् ।

यसअघि २०२२ सालमा ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ पुस्तक लेखेका थिए ।

May be an image of text

ADV

सम्बन्धित खबर