२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

गुल्मी सेवा समाज कतारको अध्यक्षमा मित्र बिएस

तिलु शर्मा पौडेल
२०८२ जेठ १७ गते २०:४५
गुल्मी सेवा समाज कतारको अध्यक्षमा मित्र बिएस

दोहा कतार: गुल्मीबाट वैदेशिक रोजगार तथा व्यवसायको सिलसिलामा कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारको दशौँ साधारणसभा सम्पन्न भएको छ ।

रेसुङ्गा नगरपालिका वडा ४ अर्खले गुल्मीमा जन्म भइ करिब दुई दशकदेखि कतारलाई कर्मथलो बनाउँदै आएका मित्र बहादुर विक सुनार(मित्र बिएस) नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै साधारणसभा फूलबारीको हलमा सम्पन्न भएको हो ।

संस्थागत रूपमा सन् २००७ मा साधारण सदस्य हुँदै समाजमा प्रवेश गरेका मित्रले क्रमशः कार्यसमिति सदस्य,क्षेत्रीय संयोजक कोषाध्यक्ष,उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष हुँदै दशौँ साधारणसभामार्फत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । कार्यसमितिको पदाधिकारीहरूमध्ये वरिष्ठ उपाध्यक्ष सुरज चन्द बोहोरा, प्रथम उपाध्यक्ष देव लम्साल, उपाध्यक्ष दर्शन सुनार, सचिव कुमार राहादी मगर, सह–सचिव रमेश पछाई, कोषाध्यक्ष कमल खत्री, महिला संयोजक कल्पना घर्ती रहेका छन् ।

कार्यसमितिको सदस्यहरूमा गोपाल पछाई (गोपी), ज्ञान बहादुर शाही, भीम बहादुर पाण्डे, दीपक घिमिरे, सुरेश परियार, मान बहादुर कार्की, शमशेर सुनार, गिरी प्रसाद दर्लामी र महिला सदस्य दुर्गा माझी रहेका छन् । सर्वसम्मत भएको कार्यसमितिलाई  निर्वाचन समितिका संयोजक बुद्ध पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

साधारणसभाको खुल्ला सत्र समाजका अध्यक्ष कमल अर्यालको सभाध्यक्षता तथा सामाजिक व्यक्तित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका संस्थापक संरक्षक क्रान्ति सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभामार्फत कार्यकालभरी सहकार्य गरेका विभिन्न सामाजिक तथा सामुदायिक संघसंस्था, सिंगो कार्यसमिति, विभिन्न व्यक्तित्वहरू, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसहित गुल्मेलीहरूको बाक्लो उपस्थिति रहेको थियो । साधारणसभामा बोल्दै एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले छिट्टै एनसीसीले श्रमिकलाई लक्षित गर्दै सचेतना कार्यक्रमहरू क्रमशः लिएर आउने बताए ।  साधारणसभामा बोल्ने अन्य वक्ताहरूले सामाजिक तथा मानवीय क्षेत्रमा समाजले गरेका कार्यहरूको प्रशंसा गर्दै कतारमा रहेका श्रमिकहरूले श्रम नवीकरण, सामाजिक सुरक्षा कोषमा आबद्धता, कतारका अस्पतालमा रहेका बिरामीहरूलाई आवश्यक सहयोग तथा घर फिर्ती र ट्राफिक नियमका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताए । 

समाजका वरिष्ठ उपाध्यक्ष मित्र बिएसले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले गुल्मी जिल्ला ऐतिहासिक जिल्ला रहेको बताउँदै कतारमा रहेका गुल्मेलीहरूले जिल्ला तथा कतारमा मानवीय हितका क्षेत्र प्रशंसनीय कार्य गरेको बताए । उनले कतारमा रहेको नेपाली समुदायले श्रमिकको हकहितमा काम गर्ने बेला आएको बताए ।

सभाको खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष अर्यालले गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय जिल्ला रहेको बताउँदै कार्यकालमा साथ दिने र मार्ग निर्देशित गर्ने सम्पूर्णमा आभार प्रकट गरेका थिए । समाजका सचिव दर्शन सुनारले कार्यक्रमलाई सहजीकरण गर्दै संस्थागत कार्य प्रगति विवरण पेस गरेका थिए । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर