२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भूमि आयोगद्वारा कञ्चनपुरमा जग्गा नापीको काम सुरु

Nada
२०८२ जेठ १८ गते ०७:४४
Shares
भूमि आयोगद्वारा कञ्चनपुरमा जग्गा नापीको काम सुरु

कञ्चनपुर : भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ ।

ncell

आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। उनका अनुसार अहिले नापीका लागि सबै पालिकामा टोली खटिएको छ । नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नाप जाँचको काम गरिरहेको उनले बताए ।  

“हामीले असारसम्ममा चार हजार लालपुर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ”, अध्यक्ष पन्तले भने, “यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ ।” उनले लालपुर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए । अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपुर्जा बनेको बताए। “असअघिको आयोगले बनाएको सेतो लालपुर्जाको  अधूरो काम पनि गरिरहेका छौँ”, उनले भने, “सीमित स्रोत र साधनका बाबजुद पनि हामीले तीव्र काम गरिरहेका छौँ ।”

भीमदत्त नगरपालिकामा भूमिहीन दलित, नौ सय २२, भूमिहीन सुकुम्वासी आठ सय ८७ र अव्यवस्थित बसोवासी ६ हजारको लगत संकलन गरिएको छ । त्यसैगरी बेदकोट नगरपालिकामा भूमिहीन दलित तीन सय ६, भूमिहीन सुकुम्वासी दुई सय पाँच र अव्यवस्थित बसोबासी नौ हजार २१ जनाको लगत संकलन गरिएको छ । कृष्णपुर नगरपालिकामा भूमिहीन दलित ९९, भूमिहीन सुकुम्वासी एक सय र अव्यवस्थित बसोबासी पन्ध्र हजार ९६२ छन् । 

शुक्लाफाँटा नगरपालिकामा भूमिहीन दलित एक सय ९३, भूमिहीन सुकुम्वासी एक सय ५४ र अव्यवस्थित बसोबासी एघार हजार ४८९ जनाको लगत संकलन गरिएको छ । आयोगका अनुसार दोधारा चाँदनी नगरपालिकामा भूमिहीन दलित एक सय ७६, भूमिहीन सुकुम्वासी दुई सय ६० र अव्यवस्थित बसोबासी तीन हजार ५६१ छन् । त्यसैगरी बेलौरी नगरपालिकामा भूमिहीन दलित एक सय १८, भूमिहीन सुकुम्वासी एक सय ८८ र अव्यवस्थित बसोबासी पाँच हजार तीन सय गरी पाँच हजार छ सय ६ को लगत संकलन गरिएको छ ।

पुनर्वास नगरपालिकामा भूमिहीन दलित सात सय ७१, भूमिहीन सुकुम्वासी आठ सय ७५ र अव्यवस्थित बसोबासी ६ हजार ७६० रहेका छन् । बेल्डाँडी गाउँपालिकामा भूमिहीन दलित एक सय ९७, भूमिहीन सुकुम्वासी एक सय ९५ र अव्यवस्थित बसोबासीको चार हजार ४०३ छन् । आयोगका अनुसार लालझाडी गाउँपालिकामा भूमिहीन दलित २२, भूमिहीन सुकुम्वासी ९० र अव्यवस्थित बसोबासी चार हजार ४६९ जना छन् ।

यीमध्ये तीन सय सात परिवारले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । जसमा बेदकोट नगरपालिकाका ८५, कृष्णपुर नगरपालिकाका ९०, बेलौरी नगरपालिकाका २१, दोधारा चाँदनी नगरपालिकामा २४ र शुक्लाफाँटा नगरपालिकाका ८७ परिवारलाई यसअघि  विघटित भूमि आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको अध्यक्ष पन्तले बताए। उनका अनुसार, आयोगले भीमदत्त नगरपालिकाका–४, १४, १५, ११ र १७ मा जग्गा नाप जाँच गरेको थियो । त्यसैगरी बेदकोट नगरपालिकाको सबै वडामा एक हजार ९२४ हेक्टर जग्गा नापी गरिएको छ । कृष्णपुर नगरपालिकाका वडा नम्बर १, २, ४, ८ र ९ मा दुई हजार ३० हेक्टर जग्गा नापी भएको छ । शुक्लाफाँटा नगरपालिकामा वडा १, २, ३, ९ मा आठ सय १६ दशमलव ३८ हेक्टर जग्गा नापी भएको छ भने वडा १२ र १० मा नापी हुन बाँकी छ । 

दोधारा चाँदनी नगरपालिकामा–८ मा पाँच सय ५२ हेक्टर जग्गा नापी गरिएको छ भने वडा ५, ३, ९ र १० मा नापीको काम भइरहेको आयोगले जनाएको छ । त्यसैगरी बेलौरी नगरपालिकामा वडा ४, ८ र १० मा नापी सम्पन्न गरिएको छ । पुनर्वास नगरपालिकामा एक सय २४ हेक्टर जग्गा नापी भएको छ । बेलडाँडी गाउँपालिकाका सबै वडामा एक हजार चार सय हेक्टर जग्गा नापी भएको छ भने लालझाडी गाउँपालिकामा वडा ४, ५ र ६ मा २१ हेक्टर जग्गा नापी भएको छ ।

सम्बन्धित खबर