२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

उत्खननको पर्खाइमा तामाखानी

मध्यान्ह
२०८२ जेठ १८ गते ०७:५५
उत्खननको पर्खाइमा तामाखानी

बागलुङ : नेपालका २२ ठूला परम्परागत खानीमध्ये एक हो, जैमिनी नगरपालिका–१० राङ्खानी । यहाँ तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ छन् । तर, उत्खनन नहुँदा र संरक्षणको अभावमा केही सुरुङ पुरिएका छन् भने पहिरोले क्षति पुर्‍याएको छ ।

तामा निकाल्ने क्रममा धेरैले ज्यान गुमाएका थिए । तर, पछिल्लो समय यस्तो देखिएको छैन। जैमिनी–१० राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको बताए । ‘बाजेले तामाको धाउ बेचेर जीविका चलाउनुहुन्थ्यो, पछि कर बढी भएपछि खानी बन्द भयो,’ उनले भने, ‘पाखैभरि तामा खनेका डोब छन् । चारदेखि ५० मिटरसम्मका सुरुङ अझै छन् । हामीले सुरुङमा हिँडेका छौँ। तर, कतिपय सुरुङ मेटिन थालेका छन्, पहिरोले पुरिएका छन् । सरकारले उत्खननमा ध्यान दिनुपर्छ ।’

राङ्खानी क्षेत्रमा तामाखानीका धेरै सुरुङका प्वाल छन् । तीमध्ये केही मेटिन थालेका छन् । डाँडाखानीलगायत क्षेत्रमा १२० वर्षअघिसम्म उत्खनन भएका तामाखानी अहिले पुरिने अवस्थामा छन् । कर तिर्न नसकेर उत्खनन बन्द भएको श्रीसले बताए । ‘१४ धार्नी कर तिर्न नसक्दा खानी बन्द भएको हो । स्रोतको अभावले कर बुझाउन नसकिएको मैले सुनेँ,’ उनले भने । अहिले पनि तामाका अवशेष रहेकाले सम्भाव्यता अध्ययन गरी खानी सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ। खानी सञ्चालित भए स्थानीय सरकार र बासिन्दाको आयआर्जन बढ्ने उनीहरूको भनाइ छ ।

स्थानीयले आफ्नै सीप र प्रविधिबाट सानो मात्रामा तामा निकाल्थे । आधुनिक प्रविधिले ठूलो मात्रामा तामा निकाल्न सकिने स्थानीय लालबहादुर पुनले बताए। अन्य जिल्लाका मजदुरसमेत यहाँ काम गर्न आउने भएकाले ठूलो मात्रामा तामा रहेको अनुमान छ ।

खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारसँग नभएकाले सङ्घीय सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताए । जैमिनी नगरपालिकाले दमेक र राङ्खानी क्षेत्रमा खानीको सम्भाव्यता अध्ययन गरिरहेको उनले जानकारी दिए । तामाको धाउलाई स्थानीय भाषामा राङ भनिन्छ । त्यसैले तत्कालीन राजा रजौटाले यो ठाउँको नाम राङ्खानी राखेको भनाइ छ । तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाभित्रका खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त भए पनि ठोस तथ्याङ्क आएको छैन ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी छन् । धातुजन्य खानीसँगै जिल्लामा ढुङ्गाखानी पनि प्रशस्त छन्। ढुङ्गाखानी केही ठाउँमा उत्खनन भए पनि फलाम र तामाखानी अझै उत्खनन हुन सकेका छैनन् ।

ADV

सम्बन्धित खबर