२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

त्रिवि उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गर्नेलाई कारवाही गरिने

Nada
२०८२ जेठ १८ गते १६:०५
Shares
त्रिवि उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गर्नेलाई कारवाही गरिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा. खड्क केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा तोडफोड र तालाबन्दी गर्ने नेविसंघका विद्यार्थीमाथि कारवाही प्रक्रिया थालिएको छ ।

ncell

त्रिवि रजिष्ट्रारको कार्यालयले एक विज्ञप्ति निकाल्दै १४ जेठमा भएको घटनामा संलग्नहरूलाई कानूनबमोजिम कारवाही तथा भौतिक सम्पत्ति हानी नोक्सानीको क्षतिपूर्ति भराउन कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

विज्ञप्तिमा विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूलाई भौतिक रूपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्ने जस्ता कार्य गर्नुका साथै त्यसदिन २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा प्रवेश गरी सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य गरेकाले कानूनी कारवाहीका लागि सरकार, नागरिक समाजसँग सहयोगको अपिल गरिएको छ ।

त्रिवि कीर्तिपुर परिसरमा पटकपटक विभिन्न व्यक्ति तथा समूहका नाममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीलाई विभिन्न बहानामा धम्की दिने र विश्वविद्यालयको सम्पत्ति तोडफोडले अन्तर्राष्ट्रियस्तरमै विश्वविद्यालयको साख गिराएको विज्ञप्तिमा जनाइएको छ ।

त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख गरिएको छ ।

सोही अनुसार परीक्षा फारम खुलाइएको छ । तर, नेविसंघका कार्यकर्ताले यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिइरहेका छन् ।
शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै अघि बढ्ने भीसी र रेक्टरको अडान छ । भिसी केसीले अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको क्यालेण्डर नबिगार्ने बताएका छन् ।

तोडफोड र तालाबन्दीमा शंकरदेव, भक्तपुरलगायतका १९ वटा क्याम्पसका नेविसंघका कार्यकर्ता सलंग्न थिए । स्ववियू निर्वाचनपश्चात भर्ना हुन पाउने विद्यार्थीको अधिकार पहिलेदेखि नै चलिआएको उनीहरूको जिकिर छ ।
 

सम्बन्धित खबर