काठमाडौं : आगामी बिहीबारदेखि वैदेशिक रोजगार ठप्प हुने भएको छ । सरकारले वैशाख २३ गते लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने कामदार रोकिने भएका हुन् ।
सरकारले राजधानीमा लगाएको निषेधाज्ञा आदेशको अवस्थामा वैदेशिक रोजगारमा जाने नरोकिने बताएको थियो । तर आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सरकारको यसअघिको वैदेशिक रोजगारमा जान नरोकिने निर्णय अर्थहीन बन्न पुगेको छ । नेपाली कामदारका गन्तव्य मुलुक खासगरी साउद, कतार, यूएईलगायतका देशमा अर्थतन्त्रले लय पक्रिँदा विदेशी कामदारको माग बढेपछि पछिल्ला दिनमा वैदेशिक रोजगारले मध्यम गतिमा भएपनि लय समाउन थालेको थियो ।
सरकारले नेपाल र भारतबीच सातामा दुई वटा मात्रै उडान कायम राख्ने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयले वैदेशिक रोजगारीमा जाने सम्पूर्ण तयारी पूरा गरेका कामदार समस्यामा परेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । वैदेशिक रोजगारमा जाने अधिकांश कामदारले फिर्ता नहुने सस्तो टिकट लिएका कारण उनीहरु समस्यामा पर्ने बताइएको छ ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदर मात्र नभई वैदेशिक रोजगारीबाट घर फर्किनेहरु पनि समस्या पर्ने देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानमा अस्थायी प्रतिबन्ध लगाएपछि स्वदेश फर्किने कामदारहरु दबाबमा रहेको र हवाई टिकट पनि महंगिएको बताइएको छ ।
यस पटकको उडान प्रतिबन्ध वैशाख मसान्तसम्म कायम रहने बताइएको छ । तर नेपालमा अस्वभाविकरुपमा बढेको कोरोना संक्रमितहरुको संख्याले अवस्था सामान्य हुन केही समय लाग्न सक्ने आंकलन गरिएको छ । यसअघि २०७६ चैत ९ गतेबाट रोकिएको नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुन २०७७ भदौ १७ सम्म पर्खिनु परेको थियो । त्यो पनि नियमित नभई चार्टर्ड उडानबाट हवाई उडान शुरु गर्दा कम आय भएका कामदार मर्कामा पर्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies