काठमाडौं : नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको छ ।
हरेक वर्ष ७ जुनमा विश्व खाद्य स्वच्छता दिवस मनाइन्छ । यस वर्ष ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ भन्ने नारासहित दिवस मनाइँदैछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १८ जेठदेखि २४ जेठसम्म एक सातासम्म दिवस मनाउन लागेको हो ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट २ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।
डब्ल्युएचओकाअनुसार अस्वस्थकर एवं दुषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म २ सय भन्दा बढी रोग लाग्ने गरेको छ । यस्तै प्रत्येक १० जनामध्ये १ जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण विरामी हुने, ४ लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने तथा झाडापखालाबाट करिव ५५ करोड बिरामी हुने गर्दछन् ।
विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपंक्षीजन्य खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ ।
विभागका महानिर्देशक कर्णले सञ्चारकर्मी र विभाग मिलेर काम गरे उद्देश्य पूरा गर्न सकिने बताए । उनले नागरिकलाई सचेत गराउने, सचेतना जगाउने र जागरुक गराउने प्रमुख उद्देश्य लिइएको बताउँदै प्रगति हासिल गर्न सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले नागरिकसमक्ष सूचना तथा सन्देश पु¥याउन सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा मोबाइल फुडल्याव भ्यान परिचालन गरी होटल रेष्टुरेण्ट, दुध, प्रशोधित पिउने पानी, ताजा फलफूल तरकारी अनुगमन निरीक्षण, विद्यालयस्तरीय खाद्य पोषण तथा स्वच्छता सचेतना कार्यक्रम गरिनेछ ।