काठमाडौं : प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न नसक्दा २ बजेका लागि सारिएको हो ।
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।
संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले पनि प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गरिरहेका छन् । तर सत्तापक्ष र प्रतिपक्षीबीच सहमति भने जुट्न सकेको छैन ।