२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

‘जलवायु संकटको प्रभाव न्यूनीकरण गर्न समुदायमा सचेतना आवश्यक’

राजकुमार के.सी.
२०८२ जेठ २० गते २१:५५
‘जलवायु संकटको प्रभाव न्यूनीकरण गर्न समुदायमा सचेतना आवश्यक’

मकवानपुर : विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार ‘जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास’ विषयक प्यानल डिस्कसन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माण मात्र नभइ समुदायस्तरबाट हुने सचेत प्रयासको महत्वपूर्ण भूमिका रहेको बताइन् । वातावरणमैत्री नीतिहरू पालिकाले बनाउँदै आएको र यसको दीगो परिणामको लागि स्थानीयस्तरको सहभागिता महत्वपूर्ण रहेको उनको भनाइ छ । 

हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले हेटौंडामा टोलस्तरमा जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनीकरण, हरियाली प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी दिए । 

अधिकारीले हेटौंडाका बासिन्दाले प्लाष्टिक प्रयोग घटाउने प्रतिबद्धता जनाउँदै ‘प्लाष्टिक मुक्त हेटौंडा २०८२’ अभियान सफल बनाउन आग्रह गरे । 

कार्यक्रममा वातावरणविद् डा. बलराम भट्टले वैज्ञानिक दृष्टिकोणबाट जलवायु परिवर्तनको प्रभाव र समाधानका उपायबारे प्रस्तुति दिँदै शिक्षा, प्रविधि र समुदायको समन्वय आवश्यक रहेको उल्लेख गरे । 

त्यस्तै, ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले निजी क्षेत्रको भूमिका र अनुभव साझा गर्दै हेटौंडामा फोहोरमैला व्यवस्थापनका क्रममा आइपर्ने व्यवहारिक चुनौती र समाधानमाथि प्रकाश पारे । 

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, नीतिगत कमजोरी, फोहोर व्यवस्थापनमा निजी र सार्वजनिक क्षेत्रको समन्वय, र युवाहरूको भूमिका सम्बन्धमा प्रश्नहरू राखी सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए । 

कार्यक्रमको सहजीकरण अनन्त कुमार बाँनियाले गरेका थिए । समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु–संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको थियो । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक डा.भिम प्रसाद तिमल्सिना, वातावरण इन्जिनियर चन्दा खड्का लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर