साउदी अरब : साउदी अरबमा आगामी साता आयोजना हुने भनिएको २ प्रमुख नेपाली सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू स्थगित भएका छन् ।
इनास साउदी अरब र के.आई. हिमालयन किचन जुबेलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगनको जानकारी दिएका हुन् ।
स्थगित कार्यक्रमहरूमा ‘इनास म्युजिकल धमाका’ र ‘नेपाल म्युजिकल सेसन २०२५’ रहेका छन् ।
इनास म्युजिकल धमाका कार्यक्रम अतिथि कलाकारको भिसाको मुख्य कारण स्थगित गरिएको आयोजक संस्था इनास साउदी अरबले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास) साउदी अरबको आयोजनामा जुन ६, २०२५ का लागि तय गरिएको ‘इनास म्युजिकल धमाका’ कार्यक्रम प्रमुख अतिथि कलाकारको भिसा समस्याका कारण स्थगित गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी विशेष अतिथि कलाकारको साउदी आगमनमा उत्पन्न भएको असहज परिस्थितिका कारण कार्यक्रम तोकिएको मितिमा सम्पन्न गर्न असमर्थ भएका छौं । हामी दर्शकहरूप्रति आभारी छौं र यो निर्णयले पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
यस्तै साउदी अरबको जुबेलमा स्थापित प्रतिष्ठित नेपाली रेस्टुरेन्ट के.आई. हिमालयन किचनको आयोजनामा हुन लागेको ‘नेपाल म्युजिकल सेसन २०२५’ पनि स्थगित गरिएको जनाइएको छ । कार्यक्रम आगामी जुन ६ तारिखमा हुने भनिएको थियो ।
उक्त कार्यक्रम के.आई. युथ ग्रुप नामक नयाँ नेपाली सामाजिक संस्थाको उद्घाटनसहित नेपाली कला, संस्कृति र समाजप्रतिको समर्पणका साथ आयोजना गरिँदै थियो । तर, प्राविधिक र व्यवस्थापकीय कारणले हाललाई स्थगित गरिएको जनाइएको छ ।