काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगार रोक्न जादुको छडी फेला नपरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वदेशमा रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई रोक्न विभिन्न उपायहरु अपनाए पनि सफल हुन नसकेको बताए ।
आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा आर्थिक विकास भौतिक संरचना निर्माणका पक्षमा उल्लेख्य काम गरेर रोजगारी सिर्जनाको प्रयास गरेको भएपनि आवश्यकता अनुसार पर्याप्त हुन नसेकेको उनको भनाइ थियो ।
बाध्यताको वैदेशिक रोजगार अन्त्य गर्ने राष्ट्रिय कार्यक्रम बनाएको सरकारले त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । तर उक्त कार्यक्रमले अपेक्षितरुपमा रोजगारी सिर्जना गर्न सकेको छैन ।
हाल ४० देखि ७० लाख युवा वैदेशिक रोजगारीमा रहेको सुनिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उनीहरुलाई सवदेशमै रोजगारी दिलाउने सरकारको चाहना हो, तर उनीहरुलाई रोजगारी दिएर स्वदेशमै रोक्न जादुको छडीजस्तो कुनै उपाय हुने रहेनछ, कृषिमा आधुनिकीकरण गरेर उनीहरुलाई स्वदेशमै रोजगारी दिने प्रयास भने जारी छ ।’
गत निर्वाचनका बेला निर्वाचनपछि आफ्नो नेतृत्वमा बलियो सरकार बन्ने र उक्त सरकारले वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावर कम्पनी बन्द गरिदिने बताएका प्रधानमन्त्री ओलीले सरकार प्रमुखको जिम्मेवारी लिएपछि वैदेशिक रोजगारको क्षेत्र सुधार गर्ने लचिलो धारणा राख्दै आएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री ओलीले द्विपक्षीय श्रम सम्झौताका माध्यमबाट वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरुको अधिकार संरक्षण गरिने बताएका थिए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सदुपयोगले पनि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको अधिकार रक्षामा भूमिका खेल्ने धारणा राखेका थिए । त्यसअघि नयाँ वर्ष २०७८ को उपलक्षयमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैदेशिक रोजगार कष्टपूणर् रहेको भन्दै स्वदेशमै उपलब्ध विकल्पको प्रयोग गर्नुपर्ने बताएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies