२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

अस्पतालको लापरबाहीबारे छानबिन गर्न माग

shivam cement
२०८२ जेठ २१ गते १६:२७
Shares
अस्पतालको लापरबाहीबारे छानबिन गर्न माग

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइसीयू र सीसीसियू वार्डमा ३  घण्टासम्म विद्युत आपुर्ति सेवा अवरुद्ध भई बिरामीहरूको उपचार प्रभावित भएको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माग गरेका छन् । 

मेयर सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् । नारायणी अस्पतालको आइसीयू र सीसीयू वार्डमा गत शुक्रबार राति विद्युत सर्किट सर्ट भएर करिब ३ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुँदा त्यहाँ उपचाररत रहेका १७ जना बिरामीको ज्यान जोखिममा परेको थियो ।

अस्पतालका कर्मचारीहरूको लापरबाहीकै कारण उक्त घटना भएको भन्दै वीरगन्ज महानगरका मेयर सिंहले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री पौडेललाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । त्यस अवसरमा खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवको पनि उपस्थिति थियो । 

मेयर सिंहले मन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा उक्त घटनाको तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर त्यसमा दोषी अस्पतालका जिम्मेवार अधिकारी तथा प्रशासनिक र प्राविधिक कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । 

साथै आइसियु र सिसियु वार्डमा पूर्वतयारी गर्न नसक्ने अस्पताल विकास समितिलाई बर्खास्त गर्नपनि मेयर सिंहले माग गरेका छन् । सार्वजनिक स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड सुनिश्चित गर्न सम्पूर्ण सरकारी अस्पतालहरूमा आकस्मिक परिस्थितिको सामना गर्नसक्क्ने (विद्युतको ब्याकअप, जेनेरेटरको नियमित परीक्षण, स्टाफको तालिम इत्यादि) अनिवार्य गर्न, शुक्रबारको घटनाबाट प्रभावित बिरामीहरूको अवस्था तथा उपचार विवरण सार्वजनिक गर्न, पीडित बिरामी र परिवारसँग अस्पतालका जिम्मेवार अधिकारी र कर्मचारीले सार्वजनिक रूपमा माफी मागी आवश्यक क्षतिपूर्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गर्न मन्त्री पौडेलसँग मेयर सिंहले माग गरेका छन् । 

मधेसका ४ जिल्लाका बिरामीहरूले उपचार गराउँदै आएको वीरगन्जको नारायणी अस्पतालमा भौतिक पूर्वाधारको कमी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको लापरवाहीका कारणले आकस्मिक कक्षददेखि शल्यक्रियासम्मका सेवा प्रभावकारी ढंगले सञ्चालन हुन सकेको छैन। जसका कारण बिरामीहरू निजी अस्पतालमा धाउन बाध्य हुँदै आएको मेयर सिंहले बताएका छन् ।
गत शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थितिमा बसेको अस्पताल विकास समिति, अस्पताल प्रशासन सहितको बैठकले अस्पतालका इलेक्ट्रिसियन इन्चार्ज सन्जिव गुप्तालाई निलम्बन गर्ने निर्णय गरेको थियो ।    

ताजा खबर

सम्बन्धित खबर