२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सर्लाहीमा कांग्रेस नेतामाथि शृंखलाबद्ध आक्रमण, प्रहरी प्रशासन मौन 

Nada
२०८२ जेठ २२ गते ०९:४६
Shares
सर्लाहीमा कांग्रेस नेतामाथि शृंखलाबद्ध आक्रमण, प्रहरी प्रशासन मौन 

काठमाडौँ : सर्लाहीमा कांग्रेस नेतामाथि शृंखलाबद्ध आक्रमण भइरहेको छ  । कांग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेश संसदीय दलका उपनेता वीरेन्द्रप्रसाद सिंह आक्रमणकारीको निशानामा परेका हुन् । 

ncell

उपनेता सिंहसहित सर्लाही रामनगर गाउँगालिकाका अध्यक्षका प्रत्याशी हरिनन्दन प्रसाद यादवलगायतमाथि पनि आक्रमणकारीको निशानामा परेका छन् । 

नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेस नेताहरूमाथि निरन्तर भइरहेको आक्रमणको विरोध गरेका छन् । उनले एक विज्ञप्ति जारि गर्दै कांग्रेस नेताहरूमाथि निरन्तर आक्रमण हुँदा पनि प्रहरी प्रशासन मौन बसेको आरोप लगाए । 

उनले विज्ञप्तिमा भनेका छन् - 'कांग्रेस नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिक प्रतिशोध साध्नका लागि पछिल्लो केहीदिन यतादेखि अपराधी प्रवित्तिका व्यक्तिहरूले कुटपिट, तोडफोड तथा ज्यान लिने सम्मको काम गर्दै आईरहेको घटनाप्रति घोर निन्दा एवं भर्त्सना गर्दछु ।' उनले अपराधी समूहहरूले शृंखलाबद्ध रुपमा नेपाली कांग्रेसका नेता र कार्यकर्तामाथि  ज्यान लिने सम्मको आक्रमण गर्ने गरेको घटनाले  चिन्तित बनाएको  बताए । 

नेता तथा कार्यकर्तामाथि पटकपटक भइरहेको सांघातिक आक्रमण सह्य नहुने र तत्काल स्थानीय प्रशासनले अपराधीहरूलाई कारबाहीको दायरामा नल्याए नेपाली कांग्रेस सर्लाही शान्ति सुरक्षा कायम गराउन तथा न्याय स्थापित गराउन कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरू तय गरी अगाडि बढ्ने र त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेता तथा कार्यकर्तामाथि भइरहेको शृंखलाबद्ध आक्रमण असह्य हुने भन्दै सर्लाही कांग्रेसले आन्दोलनको चेतावनीसमेत दिएको छ ।दोषीलाई कारबाहीको दायरामा ल्याई आम जनतालाई त्रासमुक्त बनाउन, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरेको नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा संचार विभागका सचिव निकेश त्रिपाठीले जानकारी दिए । यो विषयमा गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराइएको छ । 

सम्बन्धित खबर