२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एकीकृत समाजवादीको आरोप- 'राजनीतिक प्रतिशोध राखेर अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गरियो'

Nada
२०८२ जेठ २२ गते १५:१०
Shares
एकीकृत समाजवादीको आरोप- 'राजनीतिक प्रतिशोध राखेर अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गरियो'

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि दायर गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको आरोप लगाएको छ ।

ncell

बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले राजनीतिक प्रतिशोध राखेर अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गर्न लगाइएको आरोप लगाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयलाई प्रदान गरिएको जग्गा सम्बन्धी अनियमितता आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।

उनका अनुसार, अध्यक्ष नेपालले कुनै व्यक्तिगत लाभ नलिएको र निर्णय पूर्णरूपमा नीतिगत भएकाले यसलाई भ्रष्टाचारको रूपमा चित्रण गर्नु गलत हो । “सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार हुन्छ। यदि यस्ता निर्णयलाई भ्रष्टाचारको रूपमा व्याख्या गर्न थालियो भने संसदका धेरै सदस्यहरू फस्ने छन्,” पाण्डेले स्पष्ट पारे।

उनले गिरिबन्धु टी स्टेट प्रकरणको उदाहरण दिँदै त्यहाँ पनि नीतिगत निर्णय भएकै कारण मुद्दा नचलाइएको बताए । तर, नेपालविरुद्ध पहिले तामेलीमा राखिएको मुद्दालाई पुनः चलाउने निर्णय हुनु नै प्रतिशोधको संकेत भएको उनको भनाइ छ ।

पाण्डेले संविधानिक आयोगहरूका पदाधिकारीहरूको म्याद सकिनै लागेकाले यसबीचमा हतारमा निर्णय लिइएको शंका पनि व्यक्त गरे । “संविधानिक निकायहरूको कार्यकाल सकिनु अगाडि के-के गरेर जानुपर्ने हो भन्ने दबाबका कारण यस्तो निर्णय आएको जस्तो लाग्छ,” उनले भने ।

पाण्डेका अनुसार अध्यक्ष नेपाल हाल रौतहटमा छन् र काठमाडौं फर्किएपछि पार्टीले यो विषयमा विस्तृत छलफल गर्नेछ ।

सम्बन्धित खबर