यो साता कोभिड महामारीले उच्च रुप लिएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या तीन अंकमा घटेको छैन । बिहीबार पनि संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । गएको वैशाख २७ बाटै कोराना महामारीबाट मृत्यु हुने संख्या उच्च बनेको छ । वैशाख २७ मा १३९ जनाको मृत्यु भएको थियो । भोलिपल्ट २२५ जनाको मृत्यु भयो । बुधवार मात्रै १६८ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहनुमा स्वास्थ्य उपचारको अभाव प्रमुख हो । चिकित्सक, वेड, अक्सिजन जस्ता आधारभूत समस्या हल हुन नसक्दा दिनहुँ मृत्युको ग्राफ उच्च दरमा बढिरहेको छ । उपचारत संक्रमित संख्या पनि नेपालमा एक लाख भन्दा बढी छ । नेपाल जस्तो सानो र कम जनसंख्या भएको देशमा एक लाख भन्दा बढी सक्रिय संक्रमित हुनुले कोरोनाको भयावह कुन तहमा पुगेको छ भन्ने प्रष्ट हुन्छ ।
अझ मृत्यु हुनेको अवस्थाले जोकोहीको मन रसाउँछ । तर पनि संक्रमण दर घटेको छैन । बिहीबार मात्रै ८८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसले मुलुकमा कोरोना राष्ट्रिय समस्या रहेको मात्रै नभएर संकटतर्फ मुलुक अगाडि बढेको प्रष्ट हुन्छ । तर बिहीबार देखिएको घटनाक्रमले मात्रै पनि मुलुकको नेतृत्वको ध्यान चाहिँ कता रहेको छ भन्ने प्रष्ट हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २७ वैशाखमा संसद्मा विश्वासको मत लिन सकेका थिएनन् । यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकारका लागि आह्वान गरेकी थिइन् । तर बिहीबार एकाएक एमालेभित्र सहमतिको प्रयास भयो भने जनता समाजवादी पार्टी (जसपा) भित्रको विभेद चर्किएर गयो । यसले काँग्रेस र माओवादी केन्द्रले नयाँ सरकारको दावी छोड्ने निर्णय गरेको छ । तर दिनभरको ध्यान भने अब को प्रधानमन्त्री बन्छ भन्नेमै केन्द्रीत भयो ।
अतः अहिलेलाई प्रधानमन्त्रीमा फेरि ओली नै बन्ने भएका छन् । तर फेरि पनि सत्ताको खेल अन्त्य भएको देखिदैन । कुनैपनि बेला अर्को खेल शुरु हुनेछ । जस्तो– एमालेभित्र फेरि विवाद शुरु भयो भने एक महिनाभित्रै नयाँ सरकारको खेल हुनेछ । जबकी मुलकुलाई अहिले चाहिएको भने राष्ट्रिय सहमति हो । अविश्वास र विवादले मुलुकमा देखिएको महामारीबाट नागरिकको जीवन रक्षा गर्न सक्दैन भन्ने प्रष्ट छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies