२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

ध्रुवीकरणको नाममा माओवादीमा अब जतिपनि केन्द्रीय सदस्य

अस्मिता बम
२०८२ जेठ २९ गते ०६:२०
ध्रुवीकरणको नाममा माओवादीमा अब जतिपनि केन्द्रीय सदस्य

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र केन्द्रीय सदस्य ‘असीमित’ बनाएको छ । पार्टीमा केन्द्रीय सदस्यको संख्या ‘असीमित’ बनाउन मिल्ने गरी विधानको प्रावधान सच्याइएको छ । 

२०८० फागुनमा काठमाडौंमा भएको विधान सम्मेलनले पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कूल सदस्य संख्याको १० प्रतिशतसम्म मात्र समायोजन गर्न सकिने प्रावधान गरेको थियो । तर, त्यसलाई संशोधन गरेर माओवादीले जति पनि सदस्य बनाउन मिल्ने प्रावधान बनाएको छ ।

१२ जेठमा बसेको पदाधिकारी बैठकले केन्द्रीय सदस्यको संख्या असीमिति बनाउने निर्णय गरेको हो । यो निर्णयलाई १९ जेठमा केन्द्रीय सदस्यहरूलाई सर्कुलर पठाएर जानकारीसमेत गराइसकिएको छ ।

‘पार्टी विधानको प्रावधानअनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कूल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुवीकरणको आवश्यकता र महत्त्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने’, पार्टी महासचिव देव गुरूङले जारी गरेको सर्कुलरमा भनिएको छ । पदाधिकारी बैठकपछि जारी गरिएको परिपत्रमा हाललाई उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने पार्ने उल्लेख छ । 

माओवादी केन्द्रमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन् । यसअनुरूप जाने हो भने बढीमा ४० जना मात्रै थप्न सकिन्छ । तर, विधानको यो प्रावधान निष्क्रिय पारेर जति पनि केन्द्रीय सदस्य बनाउन मिल्ने बनाइएको छ ।

माओवादी केन्द्रको विधान सम्मेलनले ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । तर, पार्टीको महाधिवेशनसम्मका लागि अहिलेकै कमिटी यथावत् राख्ने र महाधिवेशनमा निर्वाचनबाट केन्द्रीय सदस्य छान्ने निर्णय पार्टीले गरेको थियो ।

अध्यक्ष पुष्पकमल दाहालले पनि पहिल्यैदेखि २ अंकको केन्द्रीय सदस्य बनाउने बताउँदै आएका हुन् । तर, अहिले आएर फेरि असीमित संख्यामा केन्द्रीय बनाउन सकिने बनाएका छन् । यसअघि माओवादीले ४ हजारसम्मको संख्याको केन्द्रीय समिति बनाएको थियो । जसको आलोचनासमेत भएको थियो । फेरि माओवादी केन्द्रले अरु पार्टीहरूसँग एकता र ध्रुवीकरण हुने भन्दै असीमित केन्द्रीय सदस्य बनाउन सकिने प्रावधान बनाएको हो ।

यस्तो निर्णयपछि अब केन्द्रीय सदस्य जति पनि बनाउने बाटो खुलेको माओवादी केन्द्रका एक नेताले बताए । 

माओवादीले पटक–पटक थपेका केन्द्रीय सदस्यको विवरण उसले वेवसाइटमा अद्यावधिक गरेको पनि छैन । त्यसैले अहिले माओवादीका केन्द्रीय सदस्य कति छन् स्वयं माओवादीलाई पनि थाहा छैन ।

माओवादी केन्द्रको निर्णयअनुसार आगामी असारमा पार्टीको केन्द्रीय कमिटी बैठक र मंसिरमा महाधिवेशन हुने कार्यतालिका छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर