काठमाडौंः राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले यस्तो बताएकी हुन्।
उनले त्रिभूवन विमानस्थल अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएकाले त्यसको छानविनका लागि उच्चस्तरीय समितिको माग गरिएको बताइन् । भिजिट भिसा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएकोले दोषीलाई छानविनको दायरामा ल्याइ सजायको भागीदार बनाएर विश्वसामु शिर ठाडो बनाउनेगरी काम गर्नुपर्नेमा उनले जोड दिइन् । सांसद बेलबासेले नीतिगत कमजोरी सुधार्न र भ्रष्टाचार रोक्नका लागि पनि उच्चस्तरिय छानविन समिति बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘कानुनमा भएका कमी कमजोरीप्रति जिम्मेवार बनेर अघि बढ्नुपर्ने देखिन्छ । भिजिट भिसामै जानेका लागि रोक्न सकिन्छ । तर संगठित रुपमा भिजिट भिसामा जानेहरुलाई किन रोक्न सकिएन ः अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएका छन् । नीति गत कमी,कमजोरी कहाँ कहाँ छ र त्यसको छानविनका लागि उच्चस्तरीय समिति माग गरिएको हो । हाम्रो चुस्त दुरुस्त प्रशासन चलाइरहेका छौं भनेर विश्वास दिलाउनु पर्ने र विश्वसामु शिर ठाडो बनाएर हिड्नका लागि यस्ता विषयलाई छानविनको दायरामा ल्याइ दोषीलाई सजायको भागीदार बनाउनुपर्छ र आइन्दा यस्ता समस्याहरु नआउनका लागि तल्लो तहमा काम गर्ने एजेन्टहरुले अबसर नपाउनेगरि कानुन बनेको छ । सोही कानुनअनुसार हिँड्नु अहिलेको आवश्यकता हो ।’
उनले आगामी दिनमा यस प्रकारका समस्या आउन नदिन तल्लो तहमा काम गर्ने एजेन्टहरुलेसमेत अवसर नपाउने गरी कानुन बनेको र सोही कानुनअनुसार अघि बढ्नु आजको आवश्यकता भएको स्पष्ट पारिन् ।