पोखरा : गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ ।
गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा. टकराज गुरुङले आइतबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटको ५९.७ प्रतिशत अर्थात् १९ अर्ब ९ करोड ३३ लाख २४ हजार पुँजीगत खर्चमा विनियोजन गरिएको छ ।
चालु खर्च १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात् ३९.५ प्रतिशत र वित्तीय व्यवस्थापनका लागि २५ करोड अर्थात् ०.८ प्रतिशत छुट्याइएको छ ।
बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदान ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख, र विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ छ । आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य सरकारले राखेको छ ।
यो चालु आर्थिक वर्षको भन्दा करिब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ ।